मंगलबारदेखि लोडसेडिङ दैनिक एक घण्टा घट्ने

53

काठमाडौँ, १४ चैत – मंगलबारदेखि लोडसेडिङ घट्ने भएको छ । एसएलसी परीक्षालाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले दिनमा एक घण्टा लोडसेडिङ घटाउन लागेको हो ।

अहिले हप्तामा ८४ घण्टा लोडसेडिङ भइरहेको छ । अब भने हप्तामा ७७ घण्टामात्रै लोडसेडिङ हुने प्राधिकरणका प्रणाली सुधार तथा सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले अनलाइनखबरलाई जानकारी दिए । लोडसेडिङको नयाँ तालिका भोलि सार्वजनिक हुनेछ ।

‘एसएलसी दिने विद्यार्थीलाई केही राहत होस् भनेर लोसेडिङ घटाउने निर्णय भएको हो’ क्षेत्रीले भने-‘लोडसेडिङ घट्नसक्ने गरी नदीहरुमा पानीको बाहाव नबढेपनि बैकल्पिक उपाय लगाएर लोडसेडिङ घटाउन लागिएको हो ।’

उनकाअनुसार अब दिनमा एकघण्टा लोडसेडिङ घटाउन जलाययुक्त कुलेखानी आयोजनाको पानीलाई अधिकतम् प्रयोग गरिनेछ ।

‘पावर ब्याकअपको रुपमा रहेको कुलेखानीलाई अब अहिले भन्दा धेरै चलाउँछौं’ विभाग प्रमुख क्षेत्रीले भने-‘भारतबाट पनि थप बिजुली आइसकेको छ । यसले पनि केही सहयोग गर्नेछ ।’