समयमै भ्रातृसंस्थाको अधिवेशन गर्न देउवाको निर्देशन

42
फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, १४ चैत – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समयमै भ्रातृसंस्थाको अधिवेशन गर्न निर्देशन दिएका छन् ।

सभापति देउवालाई सम्मान गर्न बुढानिलकण्ठ पुगेको नेपाल तरुण दलका प्रतिनिधिलाई समयमै अधिवेशन गर्न निर्देशन दिँदै लामो समय प्रमुख भ्रातृसंस्थाको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणका साथै पार्टीको आन्तरिक जीवनमा समेत असर पुगेको उनले बताए । “अब कुनै पनि बहानामा अधिवेशनमा ढिलाइ गर्नुहुन्न, अधिवेशन गराउन पार्टीले पूरा सहयोग गर्छ”, उनले भने ।

तरुण दलका अध्यक्ष एवम् सांसद उदयशम्शेर राणाले विगतमा पार्टी नेतृत्वको असहयोगले अधिवेशन गर्न समस्या भएको उल्लेख गर्दै अब तरुण दल अधिवेशनमा जुटिसकेको बताए । उनले केही दिनमै दलको बैठक बोलाएर अधिवेशनमा लाग्ने जानकारी दिए ।

पछिल्लो समय नेपाल विद्यार्थी सङ्घ, तरुण दल र नेपाल महिला सङ्घ लगायत आधा दर्जन भ्रातृसंस्थाको अधिवेशन हुन सकेको छैन ।