चीनसँगको सम्झौताले भारत झन खुसी : मन्त्री रावल

42
फाइल तस्बिर
फाइल तस्बिर

नेपालगञ्ज, १५ चैत – उपप्रधान तथा रक्षामन्त्री भिम रावलले नेपालले चीनसँग गरेको सम्झौताले भारत झन् खुसी भएको दाबी गर्नुभएको छ ।

नेपाल दुरसञ्चार कर्मचारी सङ्घको ९ औं महाधिवेशनको सोमबार नेपालगञ्जमा उद्घाटन गर्दै उपप्रधानमन्त्री रावलले नेपालले आर्थिक सम्वृद्धिका लागि भारत र चीन दुवै महत्वपूर्ण रहेकोले सम्झौता गरेको बताउनुभयो ।

नेपालको स्वाधिनता र स्वाभिमानमाथी भएको प्रहार बर्तमान सरकारले बालुवाटारबाट सफलतापूर्वक सामना गर्दै व्यवस्थापन गरेको उहाँको भनाई छ । उहाँले मुलुकलाई सम्वृद्धिको गन्तव्यमा पु¥याउनु नै बर्तमान सरकारको लक्ष्य भएको स्पष्ट पार्नुभयो । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री शरेधन राईले बर्तमान सरकार जनताको भावना र चाहना अनुसार अघि बढेको बताउनुभयो ।

मन्त्री राईले बर्तमान सरकारले भारत र चीनसँगको सम्बन्धलाई नयाँ उचाईबाट अघि बढाउन खोजेको बताउनुभयो । सरकार प्रबक्ता समेत रहनुभएका मन्त्री राईले नेपाल टेलिकमको सेवा सुविधालाई नयाँ गति दिई आमुल परिवर्तन गर्दै यसको पहुँच कुना काप्चामा पुर्‍याउन जरुरी भएको बताउनुभयो ।

हरेक विद्यालय, कलेज, स्वास्थ्य संस्था लगायत सार्वजनिक क्षेत्रमा ईन्टरनेटको पहुँच पुर्‍याउन पहल भइरहेको बताउनुभयो । मन्त्री राईले टेलिकमको गुणस्तरमा सुधार ल्याउन दुई महिनाको अल्टिमेटम दिएको बताउँदै सुधार नभए तेस्रो पक्षीय प्रविधिको प्रयोग गर्ने बताउनुभयो ।