स्याम्पुको बोतलमा ५ करोड ४० लाखको कोकिन, दुई महिला समातिए

27

काठमाडौँ, १५ चैत – नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ठूलो परिमाणको लागूपदार्थ कोकिनसहित दुई महिलालाई पक्राउ गरेको छ ।

दक्षिण अफ्रिकी महिला एम्पाथोनी एम्साने र भारतीय महिला मेर्सीलाई प्रहरीले २ दशमलव ७२ लिटर परिमाणको तरल कोनिकसहित पक्राउ गरेको हो ।

बरामद भएको कोकिनको मूल्य ५ करोड ४० लाख रुपैयाँ बराबर हुने पनि प्रहरीले जनाएको छ ।

नेपालमै पहिलोपटक यति ठूलो परिमाणको लागूपदार्थ बरामद भएको पनि प्रहरीको भनाइ छ ।

दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट ब्राजिल पुगी यी महिलाहरुले कोकिन लिएर काठमाडौं आएको र यहाँबाट अन्यत्र पुर्‍याउने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

स्याम्पुको बोतलमा भरिएको कोकिनसहित उनीहरु क्षेत्रपाटीबाट पक्राउ परेका हुन् । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

यी महिलाहरुले दक्षिण अफ्रिका, भारत, फिलिपिन्स हुँदै युरोपियन मुलुकहरुमा कोकिन तस्करी गर्न नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाउँदै आएको पनि अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।