सिंघानिया हत्याका चार आरोपी पक्राउ

38

जनकपुर, १७ चैत – जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानीयाको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले १६ चैत राति करिब ११ बजे जनकपुर–१ वकिल टोलबाट तीन पुरुष र एक महिलालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा सिंघानिया हत्याका प्रमुख आरोपी भनिएका चन्द्रदीप यादव, उनकी महिला साथी कल्याणी देवी, उनका भाई र अर्को एकजना पुरुष छन् ।

जनकपुरका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले चार जना पक्राउ परेको बताए पनि उनीहरुको नाम खुलाउन चाहेनन् । पक्राउ परेकाहरुका बारेमा भोलि, १८ चैतमा पत्रकार सम्मेलनमार्फत मात्रै जानकारी दिइने उनले बताए ।

टुडे संचार समूहका अध्यक्ष तथा जनकपुर टुडे दैनिक पत्रिकाका प्रकाशक सिंघानियाको १७ फागुन २०६६ मा होली पर्वको सांझ जनकपुरको शिवचोकमा गोली हानेर हत्या गरिएको थियो ।

होली पर्व मनाएर घर फर्किने क्रममा सिंघानियालाई अपरिचित व्यक्तिले गोली हानेको थियो ।

हिजो राति पक्राउ परेका भनिएका यादवले भारतको जयनगरमा बसेर ‘तराई जनतान्त्रिक मुक्ति मोर्चा’ का नाममा नेपालमा अपराधिक गतिविधि सञ्चालन गर्दै आएका थिए ।