दशकमा लगानीकर्ताको सम्पत्ति २४ गुणा बढ्यो

50

25012016085302NEPSE-300x0चैत्र २४, २०७२- सेयर बजारमा सूचीकृत कम्पनीका लगानीकर्ताको सम्पत्ति ११ वर्षमा २४ गुणा बढेको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको बजार पुँजीकरणमा भएको वृद्धिले सम्पत्ति बढेको भनिएको हो ।

यसको अर्थ यदि लगानीकर्ताले सबै सेयर बेचेका भए २४ गुणा मुनाफा आर्जन गर्न सक्थे भन्ने पनि हो । तर, यस बीचमा धेरै कम्पनी थपिएको र सबै लगानीकर्ताले
सबै सेयर नबेच्ने भएकाले लगानीकर्ताले कमाइहालेको भने भन्न मिल्दैन । उक्त रकम आम्दानीमा परिणत हुनका लागि लगानीकर्ताले सेयर बिक्री गरी मुनाफा सुरक्षित गर्नुपर्छ ।

आर्थिक वर्ष २०६१/६२ मा नेप्सेमा सूचीकृत सेयरको बजार पुँजीकरण ६१ अर्ब ३६ करोड रुपैयाँ रहेकामा हाल (यही चैत २३ गते) १४ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । बजार पुँजीकरण बजारमा सूचीकृत कम्पनीको सेयरलाई बजार मूल्यले गुणा गरेर निकालिन्छ ।

पछिल्लो एक दशकमा मुलुकको आर्थिक गतिविधि निकै सुस्त रहे पनि बजार पुँजीकरण भने बढिरहेको छ । यसले सेयर बजार आकलनभन्दा बाहिर रहेको र लगानीका अन्य अवसर संकुचित भएकाले यहाँ आकर्षण बढेको रूपमा विश्लेषण गरिएको छ । लगानीका अन्य क्षेत्रहरू दशकयता (उद्योग, व्यवसाय, पूर्वाधार विकास आदि) अपेक्षित रूपमा विस्तार हुन सकेन ।

यस्तो अवस्थामा सेयर बजार नै लगानीका लागि एक मात्र राम्रो क्षेत्र देखिएपछि लगानीकर्ता त्यसतर्फ आकर्षित भएको विश्लेषकहरू बताउँछन् । सेयर बजारबाट तुलनात्मक लाभ बढी पाइएपछि लगानीकर्ता आकर्षित भएको नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष दीपक काफ्लेले बताए ।

‘पछिल्लो दशकमा लगानीकर्तामा सेयर बजारसम्बन्धी जनचेतना बढेको छ,’ उनले भने, ‘यो पनि बजारमा सेयर मूल्य बढ्नुको प्रमुख कारण हो ।’ उनका अनुसार सेयर बजारमा निकै कम लगानीकर्ताले मात्र मुनाफा हात पार्छन् ।

तर, पनि अहिले यो क्षेत्र काठमाडौं उपत्यकालगायत मोफसलमा प्रमुख सहरी क्षेत्रका लगानीकर्तामाझ निकै लोकप्रिय बनेको छ ।

पछिल्लो दशकमा सेयर बजारको आकार बढ्नुका साथै आधुनिक प्रविधि पनि भित्रिएकाले लगानीकर्ताको सम्पत्ति उच्च दरले बढेको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए ।

‘सेयर बजारले मुलुकको अर्थतन्त्रको वास्तविक अवस्था प्रतिबिम्बित गर्ने भएकाले अर्थतन्त्रमा आएको सुधारसँगै सेयर बजारमा कारोबार पनि बढेको हो,’ उनले भने ।
यसैगरी विगत ११ वर्षमा सेयर बजार परिसूचक नेप्से १०८८ दशमलव ५९ अंक बढेको छ । २ सय ८६ दशलमव ८७ अंकमा रहेको नेप्से हाल (यही चैत २३ गते) १ हजार ३ सय ७५ दशमलव २६ मा पुगेको छ ।

सो अवधिमा सेयर संख्या, कारोबार संख्या, कारोबार रकमलगायत सबै पक्षमा सुधार भएको छ । आर्थिक वर्ष ०६१/०६२ मा वार्षिक सेयर कारोबार ४ अर्ब ५० करोड ८० लाख रुपैयाँ रहेको थियो । यस्तो कारोबार आर्थिक वर्ष ०७१/७२ मा ६५ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षमा यस्तो कारोबार झनै बढेर हालसम्मकै उच्च स्थानमा पुगेको छ ।

यस्तै स्थापना कालसँग तुलना गर्दा पनि विगत २२ वर्षमा सेयर लगानीकर्ताको सम्पत्ति १ सय ४ गुणाले बढेको छ । आर्थिक वर्ष ०५०/५१ मा १३ अर्ब ८७ करोड २० लाख रहेको बजार पुँजीकरण रहेको थियो । २०५० पुस ३० गतेबाट नेप्सेले औपचारिक रूपमा कारोबार सुरु गरेको हो ।

स्थापना कालमा ६२ वटा कम्पनीबाट कारोबार सुरु गरेको नेप्सेमा हाल सूचीकृत कम्पनी संख्या २ सय ३१ पुगेको हो । ती मध्ये बैंक तथा वित्तीय संस्था र बिमाको हिस्सा करिब ८५ प्रतिशतभन्दा बढी छ । उक्त कारण राष्ट्र बैंक र बिमा समितिका ससाना निर्णयले पनि सेयर बजार नराम्ररी प्रभावित हुने गरेको छ ।

यो अवधिमा धितोपत्र बजारमा वास्तविक क्षेत्र (उत्पादनशील क्षेत्र) का कम्पनी भित्र्याउन अनेक प्रयास भए पनि हुन सकेको छैन ।