‘नेपालको संविधान फ्रान्सको भन्दा प्रगतिशील’

34

Prachanda_Meet_French__ambassador_Karmon_231576580काठमाडौं: नेपालस्थित फ्रान्सका राजदूत एभेस कारमोनले बुधबार बिहान एकीकृत माअओवादीका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।भेटमा अध्यक्ष प्रचण्डले हालै भारत र युरोपियन युनियनले निकालेको संयुक्त विज्ञप्तीबारे फ्रान्सको धारणा मागेका थिए ।

जवाफमा राजदूत कारमोनले फ्रान्सले नयाँ संविधानलाई पूर्णरुपले समर्थन गरेको बताएका थिए । ‘नेपालको संविधान फ्रान्सको भन्दा पनि प्रगतिशील छ’, उनले प्रचण्डसँग भने ।
लाजिम्पाटमा भएको भेटवार्तामा प्रचण्डले नेपाल भिन्‍न परिस्थितिबाट गुज्रिएको बताउँदै देशका समस्याहरु विगतदेखि नै नेपाली जनता आफैंले समाधान गरिहेको बताएका थिए ।
सो क्रममा उनले शान्ति प्रक्रिया, सेना समायोजन र संविधानसभाबाट नयाँ संविधान नेपाली जनता आफैंले जारी गरेको बताए ।
उनले संविधानमा उत्पीडित जाति, समुदाय, लिङ्ग र क्षेत्रलाई समेटिएको बताउँदै अझै धेरै विषयहरु संविधानको कार्यान्वयनका क्रममा सुधारिँदै लैजाने बताएका थिए ।
भेटमा राजदूत कारमोनले फ्रान्सेली लगानीकर्ता कम्पनीहरु नेपालमा लगानीका लागि इच्छुक रहेको बताएका थिए ।
प्रचण्डले नेपाल नवनिर्माणमा अघि बढिरहेकाले लगानी गर्ने कम्पनीहरुको खाँचो रहेको बताएका उनको निजी सचिवालयले जानकारी दिएको छ ।
उनले फ्रान्सेली कम्पनीहरु नेपालमा आएर लगानी गर्न तयार भएमा वातावरण रहेको स्पष्ट पारे ।