सिंहदरबारभित्रै प्रहरीबाट कुटिए फोटो पत्रकार

38

काठमाडौं: निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रियाविरुद्ध आन्दोलनरत कर्मचारीहरुको समाचार संकलन गर्न गएका एक फोटो पत्रकार सिंहदरबारभित्रै प्रहरीबाट कुटिएका छन् ।
कर्मचारी आन्दोलनको समाचार संकलन गर्न पुगेका फोटो पत्रकार कविन अधिकारीलाई सामान्य प्रशासन मन्त्रालय अगाडि प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेका हुन् ।
आन्दोलनको फोटो किन खिचेको भन्दै फोटो पत्रकार अधिकारीलाई नियन्त्रणमा लिएर लाठीले हानेका थिए । प्रहरीको कुटाइबाट उनको दाहिने खुट्टामा चोट लागेको छ ।
कुटपिटका क्रममा प्रहरीले अधिकारीको साथमा रहेको क्यामेरासमेत फुटाइदिन खोजेका थिए । तर आफूले कुटाई खाए पनि अधिकारीले क्यामेरा भने जोगाएका थिए ।
प्रहरीले खुट्टामा लाठी बर्साएपछि घाइते भएका अधिकारीलाई उपचारका लागि ह्याम्स अस्पताल लगिएको फोटो पत्रकार क्लबका महासचिव विकास कार्कीले जानकारी दिए ।
कर्मचारीको आन्दोलन भइरहँदा सामान्य प्रशासन मन्त्रालय अगाडि डिएसपी प्रजीत केसीको नेतृत्वमा प्रहरी खटिएका थिए ।
ट्रेड युनियनको निर्वाचन घोषणाको विरोधमा एमाओवादी, वैद्य एमा‌ओवादी र मधेसी दल नजिकका कर्मचारीहरू काम नै बन्द गरेर आन्दोलनरत रहेका छन् ।