संविधान घोषणा ऐतिहासिक उपलब्धिः भटृराई

36
फाइल तस्बिर
फाइल तस्बिर

महोत्तरी, ०७ बैशाख : पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधानसभाबाट नयाँ संविधान घोषणा अपूर्व ऐतिहासिक उपलब्धि रहेको बताएका छन्।

महोत्तरीको बर्दिवासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले एेतिहासिक उपलब्धिलाई आत्मसात् गर्न नसक्नु लोकतान्त्रिक आन्दोलनकै अबमूल्यन हुने स्पष्ट पारे।

नयाँ संविधान घोषणासँगै मुलुक अब आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेको भट्टराईको भनाई छ। आफूले यसै चरणलाई पहिचान गरेर आर्थिक विकास र समृद्धिको लडाइँका लागि राजनीतिमा नयाँ शक्तिको आवश्यकता महसुस गरेर अघि बढेको उनले वताए।

मधेसमा आन्दोलनको तयारीमा रहेका दललाई भट्टराईले विगतको नाकाबन्दी र हडतालले आर्थिक, सामाजिक र राजनीतिक रुपमा थिलथिलो भएको मधेसमा अब आर्थिक समृद्धिको आन्दोलनको अगुवाइ गर्न अपिल गरे।

संविधान मान्दैनौँ भन्दै खुरुखुरु संसद्को भत्ता लिँदै सत्ताका लागि भइरहेका दाउपेच जनताले देखिबुझी मूल्याङ्कन गरिरहेका छन् भन्ने यथार्थ बुझ्न मधेसवादी दलसँग भट्टराईको आग्रह थियो।

अब संविधानमा उल्लेख हुन छुटेका राजनीतिक अधिकार र प्रदेश सीमाङ्कनसम्बन्धी असन्तुष्टिको सम्बोधन आपसी वार्ताबाटै समाधान हुनसक्ने  भन्दै भट्टराईले सरकार र मधेसी दल दुवै लचिलो भने हुनुपर्ने बताए। रासस