लोडसेडिङ्ग विरुद्ध पहिलो चरणमा शान्तिपुर्ण आन्दोलन गर्ने – सभापति विजय सर्राफ

37

2fead80ffc54820e1868def1c53d0eac_XL

बीरगंज, ०८ बैशाख : वैशाख नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ को आयोजनामा आज सम्पन्न भएको बुथ सभापतिहरुको भेलाले नेपाल विद्युत प्राधिकरणले अनधिकृत रुपमा गरेको लोडसेडिङ्ग विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

क्षेत्रिय सभापति विजय सर्राफको अध्यक्षतामा सम्पन्न भएको भेलाले तराईमा हाल बढदै गएको प्रचण्ड गर्मीको समयमा नेपाल विद्युत प्राधिकरणले अनधिकृत रुपमा गरेको लोडसेडिङ्ग विरुद्घ बुझाईएको ज्ञापन पत्रमा उल्लेखित गरिएको माग ७ दिन भित्र पुरा नभए कडा आन्दोलनमा उत्रने पुर्व निर्णय बमोजिम ७ दिन पश्चात पहिलो चरणको आन्दोलन स्वरुप शान्तिपुर्ण आन्दोलन गर्ने निर्णय गरेको छ ।

त्यसपछि पनि माग पुरा नभए चरणबद्ध रुपमा कडा आन्दोलनमा उत्रने निर्णय भएको क्षेत्रिय सचिव प्रभु प्रसादले जानकारी गराएका छन । भेलाले एक महिना भित्र क्षेत्र नम्बर १ अन्तर्गत रहेका नेपाली कांग्रेसका बुथ समितिहरुको विस्तार गरि पार्टीलाई सशक्त रुपमा अगाडी बढाउने निर्णय समेत गरेको छ ।

यसैबीच नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिको आज सम्पन्न दोश्रो बैठकले शैलेन्द्रकुमार उपाध्यायलाई क्षेत्रिय कार्यसमितिको उपाध्यक्ष, मनोजकुमार गुप्तालाई सचिव र मजिद मियाँ अन्सारीलाई सदस्यमा सर्वसम्मत रुपमा मनोनित गरेको छ ।

त्यसैगरि बैठकले बुथ सभापतिहरुलाई प्रत्येक महिना अनिवार्य रुपमा बैठक गरि बुथका हरेक गतिविधिहरु क्षेत्रिय समितिलाई जानकारी गराउन निर्देशन दिएको क्षेत्रिय सभापति विजय सर्राफले बताएका छन । बैठकमा क्षेत्रिय कार्यसमिति उपाध्यक्ष शैलेन्द्रकुमार उपाध्याय, सचिवद्वय प्रभु प्रसाद, मनोजकुमार गुप्ता, कोषाध्यक्ष अनिल पटेल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, प्रमानन्द साह कानु, विन्देश्वर प्रसाद चौरसिया, रामजी प्रसाद चौरसिया, मणि खडका, हुकुम सिंह, नोगेन्द्रसाह कानु, शिवओम लामिछाने, अताउल हक राँकी, मडिन्द्रलाल नेपाली, मोतिउल रहमान, नथुनी गुप्ता लगायतको उपस्थिति रहेको थियो ।