आइसिसीको अध्यक्षमा शशांक मनोहर सर्वसम्मतीले चयन

62

122932.3

काठमाडौँ, ३० बैशाख  – अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको अध्यक्षमा शशांक मनोहर चयन भएका छन् । मनोहर सर्वसम्मतीमा अध्यक्षमा चयन भएको आइसिसीले जनाएको छ । मनोहरको कार्यकाल दुई वर्षको हुनेछ ।

आइसिसीको अध्यक्षमा चयन भएपछि मनोहरले क्रिकेटको भविष्य राम्रो बनाउनका लागि यससँग सम्बन्धित सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताए । मनोहरले मंगलबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईको अध्यक्ष पदबाट राजिनामा दिएका थिए । कुनै एक देशको क्रिकेट बोर्डको अध्यक्षमा रहेको व्यक्ति आइसिसीको अध्यक्षमा उठ्न नपाउने भएकाले मनोहरले राजिनामा दिएका थिए ।

आइसिसीको अध्यक्ष चयनका लागि आउँदो मे २३ मा मतदान हुने तय भएपनि मनोहर सर्वसम्मतीले त्यस अघि नै अध्यक्षमा चयन भएका हुन् । मनोहरले बिसिसिआईको अध्यक्षको रुपमा दुई कार्यकाल काम गरेका छन् ।

कानुन व्यवसायी समेत रहेका मनोहरले सन् २००८ देखि २०११ तथा सन् २०१५ को अक्टोबरदेखि २०१६ को मेसम्म बिसिसिआईको अध्यक्षको रुपमा काम गरेका थिए ।