भ्रष्टाचारमा कुनै दल/व्यक्तिलाई छुट दिइँदैन, राम र रावण हुन तयार छु : लोकमान

29

Lokman Singh Karki

काठमाडौं,३० वैशाख – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूलाई कुनै पार्टी विशेषले अख्तियारमा नियुक्त गरेको भएपनि आफू संविधान र कानुनअनुसार नै अघि बढ्ने स्पस्ट पारेका छन् ।

नइ प्रकाशनले विहीबार राजधानीमा गरेको कार्यक्रममा उनले एमाओवादी लडाकू शिविरमा भएको भ्रष्टाचारको विषयमा परेको उजुरीतर्फ इंगित गर्दै ‘भ्रष्टाचार र अनियमिमताको विषयमा कुनै पार्टी वा व्यक्ति विशेषलाई छुट दिन सकिँदैन’–भने ।

‘मुलुकमा नयाँ व्यवस्था आएपछि एक/दुई सयजना नव–धनाढ्यहरुले देश कब्जा गर्नु दुःखद् भएको’ उनको भनाइ थियो ।

मुलुकमा भ्रष्टाचार बढ्नुमा केही राजनीतिक दल, तिनका कर्मचारी संगठन तथा छ्याप्याप्तीरुपमा खुलुेका एनजीओहरु मुख्य जिम्मेवार रहेको उनको जिकिर थियो ।

राम र रावण दुबैलाई भगवानकोरुपमा पुजिने गरेको भन्दै उनले अख्तियारले गरेको कामका कारण आफू कसैका लागि राम र कसैका लागि रावण हुन तयार रहेको बताए ।

आफू अहिले धर्म र कर्मको लडाइँमा रहेको जिकिर गर्दै अख्तियार प्रमुख कार्कीले आफू र अख्तियारले लिएको भ्रष्टाचार निर्मूलपार्ने अभियानमा सहयोग गर्न सबैलाई आग्रह पनि गरे ।