एमालेविरुद्ध लेख्ने नभेटिने प्रधानमन्त्री ओलीको दाबी

32

chandra-660x330

काठमाडौँ, ०३ जेठ – वरिष्ठ फोटोपत्रकार चन्द्रशेखर कार्कीलाई ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३’ प्रदान गरिएको छ । एमाले पार्टी कार्यालयमा आइतबार आयोजित २३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा प्रधानमन्त्री केपी ओलीले कार्कीलाई ५१ हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कार प्रदान गरे । एमाले प्रचार तथा प्रकाशन विभागले यस वर्षदेखि ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ दिन थालेको हो । पुरस्कार कोषमा सोमबारै १२ लाख रुपैयाँ रकम जम्मा भएको छ ।

पुरस्कार प्रदान गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले केही वर्षपछि एमालेविरुद्ध लेख्ने कोही नभेटिने दाबी गरे । ‘अहिले कतिपयले एमालेविरुद्ध लेख्ने गरेको पाइन्छ, एमालेले राम्रो काम गर्दै जान्छ, केही वर्षपछि विरुद्धमा लेख्ने कोही पनि भेटिनेछैनन्,’ ओलीले भने, ‘जति गाली गर्नु छ अहिले नै गर्दा हुन्छ । एमालेले देशको हितमा काम गर्दै जानेछ, केही वर्षपछि कसैको कलम एमालेविरुद्ध सर्ने छैन ।’

प्रधानमन्त्री ओलीले पुरस्कृत पत्रकार कार्कीलाई आफ्नो क्यामेराको ब्याट्री फेर्न सुझाब दिए । एमालेले धमाधम काम गर्दै जाने भएकाले फोटो खिचेको खिचै गर्न नयाँ ब्याट्री आवश्यक पर्ने उनको भनाइ थियो । ‘नीति र कार्यक्रमले अलिअलि संकेत गरेको छ, यसभन्दा बढी संकेतचाहिँ बजेटले गर्नेछ, ओलीले थपे, ‘केही वर्षपछि चन्द्रशेखरजीेले क्यामरामा नयाँ ब्याट्री राखेर हिँड्नुपर्नेछ, एमालेले काम गर्‍या गर्‍यै गर्छ, तपाईंले फोटो खिचेको खिच्यै गर्नुपर्नेछ ।’ एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले फोटोपत्रकार कार्कीले मदन भण्डारीका तस्बिर सञ्चारमाध्यममा प्रकाशन गरी पुर्‍याएको योगदानको मूल्यांकन गर्दै पुरस्कार दिइएको जानकारी गराए । उनले आउँदो वर्षदेखि स्नातकोत्तर तहमा आमसञ्चार विषयमा अध्ययन गर्ने दुई विद्यार्थीलाई शोधपत्र तयार गर्नसमेत आर्थिक सहयोग गर्ने जानकारी दिए ।