चर्को लोडसेडिङका कारण वीरगन्ज पथलैया औद्योगिक करिडोरका कलकारखानाहरु मर्कामा

43

industry

वीरगंज ०३ जेठ – ६ महिने मधेश आन्दोलन र पाँच महिने नाकाबन्दीका कारण थलिएका वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योग कलकारखानाहरु चर्को लोडसेडिङका कारण थप मर्कामा परेका छन् । नेपाल विद्युत प्राधिकरणले औद्योगिक करिडोरमा दैनिक ९ घण्टा मात्र लोडसेडिङ हुने तालिका निर्धारण गरेको भएपनि वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा दैनिक ६/७ घण्टा मात्र विद्युती आपुर्ति भइरहेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले बताउनु भयो ।संघका अनुसार वीरगन्ज पथलैया औद्योगिक कोरिडोरका लागि दुइ सय मेघावाट विद्युत आवश्यक पर्ने भएपनि अहिले ८० मेघावाट मात्र विद्युत आपुर्ति भइरहेको वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले जानकारी दिनु भयो ।विद्युत प्राधिकरणले निर्धारण गरेको लोडसेडिङको समयतालिका भन्दा बाहेकको समयमा पनि पटक पटक विद्युत आपुर्ति कटौती हुदा उद्योग कलकारखानाहरु पुर्ण क्षमता चल्न नसकेको संघका अध्यक्ष केडियाको भनाइ छ ।

उर्जाको अर्को विकल्प डिजेल पनि सहज रुपमा उपलब्ध नभएका कारण उद्योगको उत्पादन लागत खर्चिलो भएर आर्थिक नोक्सान भइरहेको उद्योगीहरुले बताएका छन् । जेनेरेटर चलाएर विद्युतको आपुर्ति गर्दा उर्जाको लागत चार गुणाले बढि पर्ने गरेको उद्योगीहरुले बताएका छन् । प्राधिकरणको विद्युत प्रति युनिट लगभग आठ रुपैया पर्छ, तर डिजेलबाट जेनेरेटर चलाएर विद्युत आपुर्ति गर्दा प्रति युनिटी ३२ रुपैया पर्ने गरेको छ । उर्जाका कारण उत्पादन लागत खर्च महङगो परेका कारण नेपालमा उत्पादित मालसामानले बजारमा भारतीय उत्पादनसंग प्रतिस्पर्धा गर्न नसकेको पनि सरावगीले बताउनु भयो । चर्को र अनियमित लोडसेडिङका साथै दिनहु हुने पटक पटकको टिपिङका कारण उद्योगहरु थप मारमा परेको उद्योगपतिहरुले बताएका छन् ।

राज्यको निर्देशनमा विद्युत प्राधीकरणले वीरगन्ज पथलैया औद्योगिक कोरिडोरका उद्योगहरुलाइ विद्यूत आपुर्तिमा विभेद गरिरहेको संघका उपाध्यक्ष गुप्ताको आरोप छ ।वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेको विद्युतको समस्याका बारेमा विद्युत प्राधिकरणका साथै उर्जा मन्त्रालय, उद्योग मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पटक पटक धाएर ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाइ नभएको संघका अध्यक्ष केडियाले गुनासो गर्नु भयो । विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवले भने नदि र जलाशयमा पानीको सतह कम भएर विद्युतको उत्पादन नै घटेका कारण औद्यागिक कोरिडोरमा विद्युत आपुर्तिमा समस्या भएको बताउनु भयो । वीरगन्ज उद्योग वाणिज्य संघका अनुसार वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा साना ठुला गरि करिब चार हजार उद्योगहरु रहेका छन् ।