37

गएराति परेको पानीसंगै आएको हावाहुरीले पर्साको ठोरी र निर्मलबस्ती गाविसमा लाखौको धनमलको क्षति भएको छ । हावाहुरीले ठोरीमा गएराति आधा दर्जन भन्दा बढी घर र केहि सार्वजनिक भवनहरुमा समेत क्षति पु¥याएको छ । हावाहुरीले ठोरी ८ गौतमनगरका भवानी चापागाँइ, छविलाल पण्डित, वडा नम्बर ३ का कृष्ण बहादुर तमांग, वडा नम्बर ४ का बालकुमारी श्रेष्ठ र राम बहादुर खत्रीको जस्ता र एड्वेस्टरको छाना उडाइदिएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । त्यस्तैगरि हावाहुरीले ठोरी ५ का दिपक तिमल्सीना, वडा नम्बर ६ का केदार थापा, वडा नम्बर १ का जीत बहादुर क्षेत्री र राजकुमार ठकुरीको घर तथा दिपकनगरमा रहेको वनशक्तीमाई महिला बचत तथा ऋण सहकारी संस्थाको भवनको जस्ताको छानो उडाइदिएको प्रहरीले जनाएको छ । हावाहुरीकै कारण गौतमनगरको चोक बजारमा रहेको ५० वर्ष पुरानो बरको रुख ढल्दा इन्द्रनारायण आचार्यको घरमा पनि क्षति पुगेको छ । यस्तै गौतनगरमा रहेको सरस्वती उच्च माविको कार्यालय भवन र ईलाका प्रहरी कार्यालय ठोरीको पार्किङस्थलको जस्ताको छाना पनि हावाहुरीले उडाइदिएको छ । यस्तै वर्षासंगै परेको चटयाङले लागेर ठोरी ३ का रामकान्त पौडेलको एउटा गोरु पनि मरेको छ । चटयाङले ठोरी ८ गौतमनगरका रमेश नेपालको घरमा जडान गरिएको सोलार प्यानल र ब्याट्रिमा पनि क्षति पुरयाएको छ ।

storm

त्यसैगरि हावाहुरीले पर्साको निर्मलबस्ती गाविसमा रहेको लोयलिटी बोर्डिङ स्कुलको छाना उडाउनुका साथै पानी पसेर कम्प्युटरमा पनि क्षति पुगेको छ । हावाहुरीले स्कुलमा ३ लाख मुल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । यस्तै निर्मलबस्ती गाविसकै ओडारमा रहेको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयको छाना र सरस्वती निम्न माध्यमिक विद्यालयको चर्पीको छाना, निर्मलबस्ती ४ का रोशन घलान र निर्मलबस्ती १ का राजेश आलेको घरको छानो तथा निर्मलबस्ती १ कै तारानाथ चिमोरिया, निर्मलबस्ती ६ का लेखमाया च्याङ्बो र देविलाल पाख्रीनको गोठको छाना पनि हावाहुरीले उडाइदिएको छ । यसैगरि हावाहुरीले रुख ढल्दा निर्मलबस्ती १ का नाम्गेल लामाको घरमा पनि क्षति पुगेको छ । हावाहुरीले निर्मलबस्ती गाविस वडा नम्बर १ रामनगरमा बिजुलीको दुईवटा पोल पनि ढलाई दिएको छ । हावाहुरीले ठोरी र निर्मलवस्तीमा गरि करिब ७ लाख मुल्य बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ । थप क्षतिको विवरण संकलन गर्ने काम भईरहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक प्रधुमन अधिकारीले जानकारी दिनुभयो । घरको छानो उडाएपछि घरमा रहेको अन्न, कपडा लगायतका सामानहरु पानीले भिजेर कामै नलाग्ने भएपछि पीडितहरुको विचल्ली भएको छ ।