वीरगन्जको घण्टाघर क्षेत्रमा यात्रु प्रतिक्षालय नहुँदा बटुवा र यात्रुहरुलाई समस्या

41

birgunj

वीरगन्ज, ०५ जेठ – वीरगन्ज नगरको सबै भन्दा व्यस्त चोक घण्टाघर क्षेत्रमा यात्रु प्रतिक्षालय नहुँदा बटुवा र यात्रुहरुलाई समस्या भएको छ । घण्टाघर चोक आसपासमा प्रतिक्षालय नहुँदा खास गरी गर्मीको समयमा बटुवा र यात्रुहरुलाइइ बढी समस्या हुने गरेको छ । चर्को घाम लागेका बेला र पानी परेका बेला घण्टाघर भएर आउजाउ गर्ने बटुवा र यात्रीहरु सडकको पेटी, नजिकका पसल र सार्वजनिक शौचालय परिसरमा ओत लागेर बस्ने गरेका छन् । चर्को घाम र पानी परेका बेला घण्टाघर आसपासका बेला ओत लागेर बसेका बेला पसलेहरुले झर्को मान्ने गरेको सर्वसधारणहरुले बताएका छन् ।

घण्टाघर आसपासमा ऐलानी जग्गा रहे पनि प्रतिक्षालय बनाउनका लागि वीरगन्ज उपमहानगरपालिका कार्यालयले चासो नदेखाएको वीरगन्जका अगुवाहरुले बताएका छन् । घण्टाघर आसपासको क्षेत्रमा प्रतिक्षालय बनाउनका लागि बेला बेलामा कुरा उठने गरेको भएपनि उपमहानगरपालिका कार्यालयले सुनुवाइ नगरेको एकीकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार जालिम मियाले बताउनु भयो । उहाँले प्रतिक्षालय बनाउनका लागि सम्बिन्धित निकायले पहल गरे राजनीतिक दलहरुले सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनु भयो । उहाँले प्रतिक्षालय निर्माणका सन्दर्भमा वीरगन्ज उपमहानगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयको फेरि ध्यानाकर्षण गराउने पनि बताउनुभयो ।