अबको २० महिनामा नयाँ निर्वाचन नगरिए देश गम्भीर दुर्घटनामा : प्रचण्ड

38
फाइल तस्बिर
फाइल तस्बिर

मन्थली, २२ जेष्ठ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको २० महिनामा नयाँ निर्वाचन गराउन नसकिए देश गम्भीर दुर्घटनामा पर्ने बताएका छन् ।

रामेछापको मन्थलीमा माओवादी केन्द्रले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले संविधान कार्यान्वयन मुख्य चुनौती भएको बताए ।

संविधान कार्यान्वयन र नयाँ निर्वाचन गराउन नसकिए देश अन्धकारतर्फ जाने भएकाले राष्ट्रिय एकता आवश्यक भएको बताए ।

राष्ट्रिय एकता बिना संविधानको कार्यान्वयन र कानून निर्माण लगायतका काम गर्न कठिनाइ हुने उनले बताए । आफू प्रधानमन्त्री बन्नका लागि एकताको कुरा नगरेको भन्दै प्रचण्डले मुलुकको निकासका लागि राष्ट्रिय सहमति आवश्यक भएकोमा उनले जोड दिए । सरकार परिवर्तनको खेलभन्दा पनि अहिले देशका लागि सबै शक्ति एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

सबै शक्तिको एकता आवश्यकता

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी शक्तिहरु मात्र नभइ अहिले सबै परिवर्तनशील पक्षहरुबीचको एकता आवश्यक भएको बताए । माओवादी तथा कम्युनिष्ट शक्तिहरुका साथै परिवर्तनशील सबै शक्ति एक ठाउँमा आउन आवश्यक भएको उनले औंल्याए ।

देशका सबै कम्प्युनिष्ट मात्र नभइ वर्तमान चुनौतिको सामना गरी मुलुकलाई अग्रगामी दिशामा लैजान सबै शक्तिको एकता आवश्यकता रहेको उनको भनाइ थियो ।

पार्टी एकता प्रक्रिया टुंगिएको छैन

माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रिया नटुंगिएको बताए । १० वटा कम्युनिष्ट घटक एक भएर माओवादी बनेको र अन्य पार्टीहरुबीचको एकता प्रक्रिया पनि जारी रहने उनले बताए ।

एकता प्रक्रिया पार्टीको महाधिवेशनसम्म जारी नै रहने उनले जानकारी दिए । उनले भूकम्पपीडितका नाममा आएको अनुदान नपाएको विषयमा सम्बन्धित निकायमा छलफल गर्ने भन्दै आश्वासन पनि दिए ।