तीन महिना भित्र फोहर अस्पताल सफा हुने

34

20160610_110013

वीरगंज, २८ जेठ – बीरगंजमा संचालीत अस्पतालहरुले भदौ मसान्त सम्ममा अस्पतालबाट निस्कने फोहर ब्यवस्थापनकालागि संरचना निर्माण गरेर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन । बीरगंज उपमहानगरपालिकाको सहयोगमा सामुदायीक स्वास्थ्य तथा शिक्षा सेवा (चेस) नेपालले आयोजना गरेको अस्पतालबाट निस्कने फोहर ब्यवस्थापन सम्बन्धी अभिमूखीकरण तथा स्थलगत अध्ययनको प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रममा अस्पतालका ब्यवस्थापकहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।

कार्यक्रममा बीरगंज उपमहानगरपालिकाको तर्फबाट फोहर ब्यवस्थापनकालागि बनाइएको तीन महिने कार्ययोजना लागु गर्ने प्रतिवद्धता ब्यक्त भएको थियो । अस्पतालबाट निस्कने फोहर ब्यवस्थापनको बर्तमान अवस्थाका बारेमा चेस नेपालले एक महिना लगाएर गरेको अध्ययन प्रतिवेदन अनुसन्धानकर्ता नरेशबाबु साहले प्रस्तुत गरेका थिए । बीरगंजका १३ वटा अस्पतालमा सो अध्ययन अनुसन्धान भएको साहले जानकारी दिए । प्रतिवेदनका अनुसार अध्ययन गरिएका १३ वटै अस्पतालमा फोहर ब्यवस्थापनकालागि चाहिने ब्यवस्थान समितिहरु निर्माण गरिएका छैनन ।एउटा मात्र अस्पतालले सम्पर्क ब्यक्ति नियुक्त गरेको अनुसन्धानबाट खुलेको छ ।

फोहर ब्यवस्थापनमा काम गर्ने दक्ष कर्मचारी अस्पतालहरुमा छैनन । एउटा मात्र अस्पतालमा फोहर ब्यवस्थापनकालागि बनेको गाइडलाइन छ ।अस्पतालहरुमा फोहर ब्यवस्थापनकालागि डस्टबीनहरुको समेत अभाव छ । भएका डस्टबीनहरुमा लेवल छैन र तीनको सही रुपमा समेत सदुपयोग नभइरहेको अनुसन्धानबाट खुलेको साहले बताए । जनताको स्वास्थ्य अधिकारलाई सुरक्षीत बनाउन क्रियाशिल भइरहेको अस्पतालहरुले त्यहीबाट उत्पादीत फोहरको ब्यवस्थापन नगरेर उल्टै नागरिक स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै वक्ताहरुले गुनासो समेत गरेका थिए । अस्पतालका संचालकहरुले फोहर ब्यवस्थापन सम्बन्धमा नियामक संस्थाहरुले प्रभावकारी नियमन नगरेको तर्क गरेका थिए ।

उनीहरुले नियमन कसले गर्ने हो भन्ने प्रतिप्रश्न गर्दै अस्पताल संचालनको इजाजत र नविकरण दिने जिल्ला जनस्वास्थ्य कार्यालयले फोहर ब्यवस्थापनको बिषयमा पनि ध्यान दिनु पर्ने बताएका थिए । अस्पताल संचालक एक्लैले फोहर ब्यवस्थापनको काम गर्न सजिलो नभएको भन्दै अस्पताल संचालकहरुले उपमहानगर र जिल्ला जनस्वास्थ्य कार्यालयलले पनि साझेदारी गर्नु पर्ने बिचार ब्यक्त गरेका थिए । चेस नेपालका अध्यक्ष बिनय यादवको अध्यक्षतामा भएको कार्यक्रममा बीरगंज उपमहानगरपालिकाका अधिकृत शम्भू गुप्ता,सामाजिक बिकास महाशाखाका सुनिल कर्ण,पत्रकार रितोश त्रिपाठी,पवन तिवारी अस्पताल संचालकहरुको तर्फबाट बिनोद गुप्ता,राजन शर्मा देव चौधरी र दिलीपराज कार्की लगायतले आफनो बिचार ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन महेश अर्याल र के.सी.लामिछानेले गरेका थिए ।