युरोकप आजबाट, पहिलो खेलमा फ्रान्स र रोमानिया भिड्ने

56

adidas-euro-2016-football

काठमाडौँ, २८ जेठ – युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोकप फुबटलको १५ औं आजबाट फ्रान्समा सुरु हुँदैछ ।

विश्वकप पछिकै सबैभन्दा ठूलो प्रतियोगिता मानिने युरोकपलाई मिनी विश्वकप समेत भनिन्छ । युरोकप फुटबलको उदघाटन खेलमा शुक्रबारराति पौने १ बजे आयोजक फ्रान्स र रोमानिया आमुने सामुने हुनेछन् ।

यसपटकदेखि प्रतियोगितामा २४ टोलीलाई समावेश गरिएको छ । फ्रान्सका विभिन्न १० शहरमा हुने प्रतियोगितामा सहभागि राष्ट्रलाई ६ समुहमा विभाजन गरिएको छ ।

समुह ए मा आयोजक फ्रान्ससँगै रोमानिया, अल्बानिया र स्विट्जरल्याण्ड रहेका छन् भने समुह बी मा इङ्ल्यान्ड, रुस, वेल्स र स्लोभाकिया रहेका छन् ।

यस्तै समुह सी मा जर्मनी युक्रेन, पोल्याण्ड र नर्दन आयरल्याण्ड छन् भने समुह डी मा स्पेन, चेक गणतन्त्र, टर्की र क्रोएसिया रहेका छन् ।
यसैगरी समुह ई मा बेल्जियम, ईटाली, आयरल्याण्ड र स्विडेन तथा समुह एफमा पोर्चुगल, आईसल्याण्ड, अष्ट्रिया र हंगेरी रहेका छन् ।

प्रत्येक समुहका विजेता र उपविजेतासँगै तेस्रो स्थानमा रहने ६ टोलीमध्येबाट उत्कृष्ट चार टोली प्रि क्वाटरफाईनलमा पुग्नेछन् ।