मस्जिद भत्किँदा पाँचको मृत्यु

    48

    masjit-660x330

    इस्लामाबाद, २९ जेठ – पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा निर्माणाधीन एक मस्जिद शुक्रबार भत्किँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । घटनामा ५५ जना घाइते भएका छन् ।

    स्थानीय मुस्लिम धर्मावलम्बी उस्माघानी मस्जिदमा जम्मा भई शुक्रबारको प्रार्थना गरिरहेका वेला एक्कासि मस्जिदको छाना खसेको कराँचीका प्रशासक लाइका अहमदले  बताए ।

    छाना भत्किएको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । मस्जिदको भारबहन क्षमताभन्दा बढी मानिस त्यहाँ जम्मा भई प्रार्थना गर्ने क्रममा सो दुर्घटना भएको स्थानीयले बताए ।  कराँचीको उत्तरी नाजिमाबाद इलाकामा रमजानको प्रार्थनामा अत्यधिक मानिस उपस्थित भएका प्रत्यक्षदर्शीले बताए ।

    घाइते हुनेमा  महिला र साना बालबालिकासमेत परेका र उनीहरुरूलाई कराँचीस्थित अस्पतालमा उपचारका लागि लगिएको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनापछि तत्कालै मस्जिदमा उद्धार टोली पुगी घाइतेलाई अस्पताल पुर्‍याइएको थियो । मस्जिदको भग्नावशेषभित्र अन्य मानिस पनि फसेको अनुमान गरिएको छ ।