सरकार आन्दोलनरत दलको माग पूरा गर्न तयार छ : प्रधानमन्त्री ओली

35

oli

विराटनगर, २९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानप्रति असन्तुष्टि राख्दै आन्दोलनरत दलका जायज माग पूरा गर्न सरकार तयार रहेको बताएका छन् ।

शनिबार विराटनगरमा तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको शिलान्याश गर्दै ओलीले स्पष्ट एजेण्डासहित वार्तामा आए जायज माग पूरा गर्न सरकार तयार रहेको बताएका हुन् । उनले भने,‘संविधानको कुन धारामा के चित्त नबुझेको हो स्पष्टरुपमा राख्नुस् जायज माग पूरा गर्न सरकार तयार छ।’ संविधानले कसैलाई विभेद नगरेको उनको दाबी छ । संविधानले कसैलाई विभेद नगरे पनि नेताहरूले सबैका माग सम्बोधन गर्नुपर्छ भन्दै अमूर्त कुरा गरिरहेको ओलीको आरोप छ ।

‘अमुर्त कुरा गरेर हुँदैन’, उनले भने, ’संविधानमा कहाँ के सच्याउने बताँउ।’ महिला, पछाडी पारिएका जनताको सहभागिताका विषयमा नेपालको संविधान संसारकै उत्कृष्ट भएको उनको भनाइ छ। अझ महिला सहभागितामा नेपाल अमेरिका भन्दा पनि अगाडि रहेको ओलीको दाबी गरे। ’अमेरिकाले भर्खर महिलालाई राष्ट्रपतिको उमेद्वार मात्रै बनाएको तर,नेपालले महिलालाई राष्ट्रपति नै बनाइसक्यो,’ उनले भने। मधेसी, आदिवासी, पिछडा वर्गलाई पनि आरक्षणका माध्ययमबाट संविधानले राज्यका सबै क्षेत्रमा समावेशी सहभागिता सुनिश्चित गरेको उनले बताए ।

सबै ठाउँमा आरक्षणले काम नगर्ने भएकाले दक्षता बढाउनु जरुरी रहेको उनको भनाइ छ। ’समावेशी आधारमा खोलामा पसायो भने खोलाले बगाउँछ’, उनले भने, ’त्यहीकारण पहिले पौडी खेल्न सिकाउनु जरुरी छ ।’ आरक्षणले खरदार, सुव्वा बनाउने बाहेक संसारसँग प्रतिश्पर्धी नबनाउने ओलीले स्पष्ट पारे ।

साना तिना कुरा छाडेर विकासमा लाग्न प्रधानमन्त्रीले सबैलाई आग्रह पनि गरेका छन् । ’राजनीतिक कच्याक्कुचुक छाडिदिऔं,’उनले भने, ’विकासमा अघि बढौं ।’उनले विराटनगर राजनीति, सञ्चार र विकासको देश तान्ने इन्जीन नै भएकाले यसलाई मास्टर प्लान बनाएर समृद्ध बढाउने घोषणा पनि गरेका छन् ।