युरोकप : इंग्ल्याण्ड र नर्दन आयरल्याण्ड विजयी, जर्मनी रोकियो

57

काठमाडौँ, ३ असार – फ्रान्समा जारी युरोकप फुटबल अन्तर्गत बिहीबारराति भएका खेलमा इंग्ल्याण्ड र नर्दन आयरल्याण्ड विजयी भएका छन् ।

समुह ‘बी’ अन्तर्गतको खेलमा इंग्ल्याण्डले वेल्सलाई २–१ ले हराँउदै समूहको शीर्ष स्थानमा उक्लिएको छ । खेलमा वेल्सका ग्यारेथ बेलले पहिलो गोल गरेका थिए ।

तर दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जेमी भार्डी र ड्यानिएल स्टुरेजले एक–एक गोल गरेपछि इंग्ल्याण्ड २–१ ले विजयी भयो ।

युरोकप फुटबलको अर्को खेलमा दावेदार जर्मनीलाई पोल्याण्डले बराबरीमा रोकेको छ । बिहीबारराति भएको समुह ‘सी’ को अर्को खेलमा जर्मनीलाई पोल्याण्डले गोलरहित बराबरीमा रोकेको हो । समूहमा ४/४ अंक जोडेका जर्मनी र पोल्याण्ड क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

समूह सीकै अर्को खेलमा नर्दन आयरल्याण्डले युक्रेनलाई २–० ले हराएको छ ।

खेलमा नर्दन आयरल्याण्डका लागि विजयी गराउन ग्यारेथ म्याक्वेली र नियाल म्याक्गिनले एक–एक गोल गरे । जितसँगै नर्दन आयरल्याण्डले ३ अंक जोड्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो पारेको छ ।

युरोकप फुटबलमा आज पनि तीन खेल हुनेछन् । साँझ पौने ७ बजे ईटाली र स्वीडेन भिड्दा बेलुकी पौने १० बजे चेक रिपब्लिकले क्रोएशियासँग खेल्नेछ । यसैगरी राति पौने १ बजे स्पेनले टर्कीसँग खेल्नेछ ।