युरो कप : टर्कीले स्पेनको सामना गर्दै

54

पेरिस, ३ असार – फ्रान्समा जारी १५ औं सस्करणको युरोपियन च्याम्पियनसिप (युरो–कप) फुटबलमा शुक्रबार विभिन्न स्थानमा ३ खेलहरु हुँदैछन् ।

युरो–कपमा शुक्रबार समूह ‘डी’ का दुई खेल हुँदैछन् भने समूह ‘इ’ को एक खेल हुनेछ । शुक्रबार हुने पहिलो खेलमा बेलुका ६ः४५ बजे इटाली र स्वीडेन भिड्दै छन् । त्यस्तै दोस्रो खेलमा ९ बजेर ४५ मिनेटमा चेक रिपव्लिक र क्रोयसिया र तेस्रो खेलमा साबिकको बिजेता स्पेनले टर्कीको सामना गर्दैछ ।

युरो–कप अन्तर्गत शुक्रबार हुने समूह चरणको खेलमा सबै टोलीलाई उत्तिकै महत्वपूर्ण रहेको छ । नकआउट चरणको प्रवेस सम्भावना कायम राखिरहन सबै टोलीलाई जित आवश्यक देखिएको छ ।

स्टेडियम डी टुलेसेमा हुने इटाली र स्वीडेनबिचको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । ग्रुप अफ डेथ मानिएको यससमुहबाट अन्तिम १६ मा स्थान बनाउन स्विडेनविरुद्ध इटालीलाई जित आवश्यक छ । यता, अघिल्लो खेलमा आयरल्यान्डसँग बराबरीमा रोकिएको स्वीडेनलाई जित्नैपर्ने दबाब छ । स्वीडेनको जम्मा एक अंक छ । बेल्जियमलाई पराजित गरेको इटालीको ३ अंक छ ।

यी दुई टोलीबीचका पछिल्ला १४ खेलमा स्विडेन अघि रहेको छ । दुई टोलीबीचको पछिल्ला १४ खेलमा ७ खेल स्विडेनले जितेको छ भने ५ खेल इटालीले जितेको छ । दुई टोलीबीच २ खेल बराबरीमा सकिएको छ ।

युरोकप अन्तर्गत शुक्रबार राती समूह ‘डी’मा रहेको क्रोएसिया र चेक गणतन्त्र पनि आमनेसामने हुँदैछन् । यस्तोमा चेक गणतन्त्र युरो–कपमा आफ्नो पहिलो जित निकाल्न चाहन्छ भने क्रोएसिया लगातार जित निकाल्दै नकआउट प्रवेश सम्भावना बलियो बनाउन चाहन्छ । यस समूहमा क्रोएसिया ३ अंकसहित शीर्ष स्थानमा छ । पहिलो खेलमा क्रोएसियाले टर्कीमाथि जित निकालेको थियो । चेक गणतन्त्र पहिलो खेलमा स्पेनसँग १–० ले पराजित भएको थियो ।

यस्तै समूह ‘डी’ कै अर्को खेलमा साबिकको बिजेता स्पेनले स्टेड ‘डी’ नाइस रंगशालामा टर्कीको सामना गर्दैछ । र, डिफेन्डिङ च्याम्पियन स्पेनलाई टर्कीविरुद्ध जित आवश्यक छ । टर्कीविरुद्ध जित निकाले स्पेनको अर्को चरण प्रवेश संभवाना बलियो हुनेछ ।

यता, स्पेनलाई पराजित गर्दै टर्की पहिलो जित निकाल्न चाहन्छ । यदि स्पेनसंँग पराजित भए टर्की समूह चरणबाट बाहिरिने सम्भावना प्रवल रहन्छ । स्पेन र टर्कीबीच पछिल्ला १३ खेलमा स्पेनले ६ खेलमा जित हात पारेको छ । यस्तै ३ खेल टर्कीले जित्दा ४ खेल बराबरीमा सकिएको छ । एजेन्सी