सरकारलाई मोर्चाको सात शर्तसहितको जवाफ

29

rajendra-upendra-new.jpg

काठमाडौँ, ३ असार – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले पठाएको वार्ता प्रस्तावसहितको पत्रको जवाफ पठाएको छ । मोर्चाले सात बुँदे शर्तसहित शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई जवाफ पठाएको हो ।

मोर्चाको सचिवालयबाट फ्याक्स गरी जवाफ पठाइएको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए । प्रधानमन्त्री ओलीले गएको सोमबार मधेसी मोर्चालाई पत्राचार गर्दै वार्तामा बोलाएपछि संघीय गठबन्धनमार्फत आन्दोलन गरिरहेका मधेसवादी दल र जनजाती घटकबीच वार्तामा जाने नजानेबारे अन्योल बढेको थियो ।

विहिबार मात्रै गठबन्धन र मोर्चाको छुट्टा–छुट्टै बैठकले सरकारलाई वार्ताको आधार तयार गर्न आग्रह गरेको थियो । यादवले सरकारी पत्र कसको नाममा आयो भन्ने महत्वपूर्ण नभएको भन्दै गठबन्धनका नाममा पत्र आएको भए पनि आफुहरुले यही जवाफ पठाउने प्रष्ट्याए । उनले भने, ‘मोर्चाको ११ सहित गठबन्धनको २६ बुँदे मागमा सरकार गम्भीर नभई वार्तामा डाक्नुको अर्थ हुँदैन भन्ने हाम्रो धारणा हो ।;

यादवले मधेस आन्दोलनका क्रममा सरकारले अत्यधिक बल प्रयोग गरेकाले स्वतन्त्र छानविन गर्नुपर्नेलगायत सात बुँदे शर्त राखिएको बताए । सरकारका प्रवक्ता शेरधन राईले भने वार्ताका लागि आफूहरूका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन् । वार्ताको टेबुलमा चाँडो आउन उनले सरकारका तर्फबाट आग्रहसमेत गरे । विहिबार छुट्टा–छुट्टै छलफलपछि विज्ञप्ति जारी गर्दै मोर्चा नेताहरुले आफूहरूका माग सम्बोधन भए वार्तामा आउन आफुहरु जुनसुकै बेला तयार रहेको जानकारी गराएका थिए ।