नेपाललाई टेष्ट राष्ट्रसँग खेल्ने मौका

56

काठमाडौँ, ५ असार – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले १३ देशले खेल्ने नयाँ एकदिवसीय क्रिकेट लिगको प्रस्ताव तयार पारेको छ ।

क्रिकेटसम्बन्धि वेबसाइड क्रिकइन्फोका अनुसार यो प्रस्ताव पारित भए नेपालले टेष्ट मान्यता प्राप्त शीर्ष दश टिमसँग खेल्ने मौका पाउनेछ ।

क्रिकइन्फोका अनुसार यो प्रस्ताव यस महिनाको अन्तिममा हुने आईसीसीको बषिर्क सम्मेलनमा पेश हुने बताइएको छ । पारित भए प्रस्तावित लिगमा १३ देशको सहभागिता रहनेछ । जसमा १० शीर्ष टेष्ट टिम र नेपाल, अफगानिस्तान र आयरल्याण्ड हुनेछन् ।

तर, १३ औं टिमका रुपमा नेपालको सहभागितामा भने केही अन्योल रहेको क्रिकइन्फोले जनाएको छ । क्रिकइन्फोको अनुसार अब एकदिवसीय लिगमा आफ्नो स्थान सुरक्षित गर्न विश्व क्रिकेट लिग च्याम्पियनसिपमा प्रदर्शन सुधार्न जरुरी छ । नेपाल भने छैटौं स्थानमा छ । यदि नेपाल यो लिगमा रेलिगेशनमा परेमा यो एकदिवसीय लिग खेल्ने सम्भावना कम हुनेछ । तर, नेपालमा बढ्दो क्रिकेटको लोकप्रियताको कारण आईसीसीले नेपाललाई मौका दिने सम्भावना रहेको बताईएको छ ।

प्रस्तावित यो लिग पारित भए नेपाल समलित यो लिग तीन वर्षको हुनेछ र यो अवधिमा सबै देशले एक अर्कासँग खेल्नेछ । हरेक टिमले तीन म्याचको सिरिज खेल्नेछन् । यो होम एण्ड अवेका आधारमा हुनेछ । यस आधारमा हरेक टिमले तीन वर्षमा ३६ एकदिवसीय खेल खेल्नेछ । लिगको शीर्ष दुई टिमले प्ले अफ सिरिज खेल्नेछ र, त्यसको विजेता एकदिवसीय लिगको विजेता हुनेछ ।

यस लिगमा पुछारमा रहने टिम विश्व क्रिकेट लिग च्याम्पियनसिपमा घटुवा हुनेछ । यदि यो प्रस्ताव पास भएमा नेपाल, अफगानिस्तान र आयरल्याण्ड जस्ता राष्ट्रको क्रिकेट विकासमा ठूलो फ्ड्को हुने विश्वास गरिएको छ ।