तमलोपाको महाधिवेशन सकिए लगतै सद्भावना पार्टी संग एकीकरण हुने संकेत

32

rajendra-mahotot-and-mahanta-thakur-tamalopa-sadabhawana-------------------------------------------------

काठमाडौँ, ८ असार – महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीबीचको एकीकरण अन्तिम चरणमा पुगेको छ ।

तमलोपाको महाधिवेशन सकिए लगतै त्यसलाई अन्तिम रुप दिने तयारी रहेको सद्भावना पार्टीका एक नेताले बताए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनलाई आफ्नो ढंगबाट अगाडि बढाउन थालेपछि महन्थ र राजेन्द्र नजिकिएका हुन् ।

नवलपरासीमा तमलोपाको महाधिवेशन हुनु र यता सद्भावना पार्टीको कार्यसम्पादन समितिको बैठक बस्नुले पनि एकीकरणको संकेत हो ।

असार ४ गतेदेखि बसेको कार्यसम्पादन समितिको बैठकको पहिलो दिनमा नै राजेन्द्र महतोले तमलोपासँगको एकीकरण बारेमा बैठकमा प्रस्ताव लगेका हुन् । बैठक प्रारम्भकै दिन उनले तमलोपासँग एकीकरण गर्नुपर्ने कि नपर्ने विषयमा नेताहरुसँग राय मागेका थिए ।

त्यति मात्रै होइन, नवपरासीमा असार ५ गते भएको महाधिवेशन उद्घाटनसत्रमा शुभकामना दिँदै अध्यक्ष महतोले सार्वजनिक रुपमै मञ्चबाट एकताको प्रस्ताव राखेका थिए । र, त्यही अध्यक्ष ठाकुरले पनि त्यसलाई सकारात्मक रुपमा लिँदै महाधिवेशनपछि यस विषयमा कुराकानी गर्ने धारणा राखेका थिए ।

एकीकरणको बारेमा अध्यक्ष ठाकुर र अध्यक्ष महतोबीच पटक–पटक छलफल भइसकेको बताइएको छ । एकीकरण गर्नुपर्छ भनि दुई नेताबीच सहमति पनि भइसकेको छ । एकीकरणको कुरा पार्टीभित्र औपचारिक रुपमा लगेर टुगों लगाउने बताइएको छ ।

दोस्रो संविधानसभाको चुनावअघि उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोबीच पार्टी एकताका लागि प्रयास भएको थियो । विधान, राजनीतिक दस्ताबेज, चुनाव चिन्ह, झण्डा लगायतको विषयमा कुरा मिलेपनि पार्टीको अध्यक्ष को बन्ने विषयमा कुरा नमिलेपछि एकीकरण हुन सकेको थिएन ।

तीन दलको बीचमा एकीकरण नहुँदा तमलोपा र सद्भावना पार्टीबीचमै एकीकरण गरौं न त भनि प्रयास भएको थियो तर तमलेपाका उपाध्यक्ष हृदेशय त्रिपाठी बाधक भएपछि एकीकरण हुन सकेको थिएन ।

अब हुने एकीकरणका लागि पनि तमलोपाबाट हृदेयश त्रिपाठी र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण बाधक हुने बताइएको छ । यी दुई नेतालाई सम्मानजनक स्थान दिएर पार्टी एकीकरण गर्ने तयारी भइरहेको बताइएको छ ।

नेताहरु भन्छन्

अध्यक्ष महतोले एकता अहिलेको आवश्यकता हो, तमलोपासँग मात्र होइन अन्य मधेशवादी दलसँग पनि एकता हुनुपर्ने पक्षमा आफू रहेको प्रतिक्रिया दिएका छन् । उनले तमलोपासँग एकता विषयमा कुराकानी भएको स्वीकार गर्दै भने, ‘आफ्नो दल एकीकरणको पक्षमा छ ।’

तमलोपाका नवनिर्वाचित उपाध्यक्ष वृषेशचन्द्र लालले आफ्नो दल पनि एकताको पक्षमा रहेको बताए । उनले आफूहरु महाधिवेशनमा व्यस्त रहेको कारणले यो बीचमा कुनै कुराकानी नभएको बताउँदै महाधिवेशन अघि एकीकरणको विषयमा दुई नेता बीच कुराकानी भएको बताए ।

साभार : रतोपाटि