बीरगंजका बोर्डिङ स्कूलको मनलाग्दी असुली

39

School

वीरगन्ज ९ असार – शिक्षा ऐन तथा नियमावली विपरीत वीरगन्ज उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका बोर्डिङ स्कुलले अभिभावकसंग मनलाग्दी रकम असुलिरहेका छन् । सरोकारवाला निकाय मौन छन् । शैक्षीक सत्रको पहिलो महिनामा प्रति विद्यार्थी २ हजार देखि ३ हजार रुपैया लिएका छन् । वीरगन्जको पुरानो स्कुल मध्यको एक गौतम माध्यमिक विद्यालयले मात्र ६० लाख रुपैया आफ्ना विद्यार्थीहरुसंग असुलेको छ । गौतममा हाल करिब २ हजार विद्यार्थी अध्ययनरत छन् ।

गौतमले प्रत्येक विद्यार्थीसंग ३ हजारको दरले वर्षभरिको अतिरिक्त शुल्कको नाममा ६० लाख रुपैया असुलेको हो । लेखापाल अनिष वर्णवालले स्वास्थ्य, खेलकुदको नाममा रकम लिएको बताउछन् । अभिभावकले विगत ३ वर्षदेखि विद्यालयमा कुनै किसिमको खेलकुल गतिविधी सञ्चालनमा नआएको बताएका छन् । जिल्ला शिक्षा अधिकारी रामबिनय सिंहले भर्ना शुल्क वाहेक पुराना विद्यार्थीसंग कुनै पनि शिर्षकमा रकम असुले गैरकानुनी भएको बताए ।

शिक्षा ऐनलाई लागू गराउने निकायको रुपमा भूमिका निर्वाह गर्ने जिल्ला शिक्षा कार्यालयले वार्षिक रुपमा यही प्रतिक्रिया दिने गरेको छ । कुनै बिद्यालयको अनुगमन गरेको र गैरकानूनी रुपमा शुल्क लिएकोले दण्डीत गरिएको छ भनेर जिल्ला शिक्षा कार्यालय पर्साले आज सम्म भन्न सकेको छैन । तैपनि बिगत वर्ष झै यसवर्ष पनि यसबारे विद्यालयसंग स्पष्टीकरण सोधीने पर्साका जिल्ला शिक्षा अधिकारी रामबिनय सिंहले प्रतिक्रिया दिएका छन ।

बिद्यालयले बिद्यार्थीलाई कुनै कक्षामा भर्ना गर्दा एक पटक भर्ना शुल्क लिइसकेपछि पूनःसोही बिद्यालयमा अर्को कक्षामा भर्ना गर्नकोलागि कुनै किसिमको शुल्क लिन पाउने छैन भनेर ऐनको १६ घ.को ३ मा स्पष्ट उल्लेख छ । त्यस्तै ४ मा बिद्यालयले बिद्यालयको भौतीक संरचना निर्माण गर्नकोलागि बिद्यार्थीसंग कुनै किसिमको शुल्क लिन पाउने छैन । दफा ५ मा संस्थागत बिद्यालयले बिद्यार्थीसंग लिन पाउने शुल्क तोकिएको अधिकारीबाट स्वीकृत गराई निर्धारण गर्नु पर्ने छ ।

ETI copy

त्यसरी शुल्क निर्धारण सम्बन्धमा स्वीकृति दिदा तोकिएको अधिकारीले बिद्यालयले उपलब्ध गर।ाएको सुविधाको आधारमा दिने उल्लेख छ । ६ मा कुनै बिद्यालयले ऐन बिपरित शुल्क लिएमा तोकिएको अधिकारीले त्यस्तो शुल्क फिर्ता गराउनु पर्ने प्रावधान रहेको छ । तर पर्सा जिल्लामा कुनै पनि बिद्यालयले मापदण्ड भित्र रहेर शुल्क निर्धारण गरेका छैनन । न त कुनै तोकिएको अधिकारीले बिद्यार्थीलाई पैसा नै फिर्ता गराएको छ । दफा ७ मा उल्लेख भए अनुसार ऐन बिपरित शुल्क लिने बिद्यालयलाई २५ हजार रुपैया सम्म जरिवाना गर्न सक्ने भएपनि कारवाही भने कसैलाई भएको छैन । ऐनमा यस्तो ब्यवस्था भएपनि ऐन लागु गर्ने निकाय भने मौन देखिन्छ ।

उसको मौनताकै कारण अभिभावकहरु मंहगो शुल्क भूक्तानीको मारमा परेका छन । बीरगंजको शिक्षामा राम्रो योगदान पु¥याएको भनेर प्रशंसा गर्ने गरिएको गौतम माध्यामिक बिद्यलायले गरेको भौतीक प्रगतीको पछाडि अभिभावकहरुको दोहन पनि छ भन्ने कुरा नजरअन्दाज गर्न नमिल्ने देखिन्छ । अभिभावकहरुबाट संकलीत पैसाको आडमा सामाजिक सेवामा समेत पाइला चाल्ने गरेको गौतम माध्यामिक बिद्यालयले अभिभावककालागि शुल्क मैत्री भएर योगदान पु¥याउन किन तत्पर हुदैन ? भन्ने प्रश्न अभिभावकहरुले उठाउन थालेका छन ।

यसैगरि जीएचपी माध्यामिक बिद्यालयले प्रति विद्यार्थी २ हजार अतिरिक्त शुल्क लिने गरेको छ भने । कादम्बरी एकेडेमीले मासिक शुल्क वाहेक प्रत्येक विद्यार्थीसंग अतिरिक्त क्रियाकलाप वापत ७ सय ५० रुपैया लिदै आएको छ ।