एक दिनमै ३ हजारले बढ्यो सुनको मूल्य

54

काठमाडौँ, १० असार – अघिल्लो दिनसम्म सामान्य घटबढ भइरहेको सुनको मूल्यमा शुक्रबार एक्कासी भारी बृद्धि भएको छ। यूरोपियन युनियनबाट बेलायत बाहिरिने पक्कापक्की भएपछि सुनको मूल्यमा भारी बृद्धि भएको हो।

बिहिबार प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५९ हजार रुपैयाँ पुगेको छ। एकै दिन प्रतितोला ३ हजार रुपैयाँले सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यका अनुसार यूरोपियन यूनियनबाट बेलायत बाहिरिने निश्चित भएपछि अन्तर्राष्ट्रिय अर्थतन्त्रमा ठूलो असरको सुरुवात भएको छ। जसको पहिलो प्रभाव सुनमा परेको छ।

शाक्यले भने ‘हालसम्म युरोपियन यूनियनप्रति जुन किसिमको विश्वास रहीआएको थियो, बेलायत बाहिरिने पक्का भएपछि त्यो स्थिति रहेन, यसले गर्दा सुनमा पहिलो प्रभाव देखिएको हो।’

सुनको मूल्य अझै बढ्ने निश्चितप्रायः रहेको शाक्यले बताए। सुनमा मात्रै नभई यसले कच्चा तेल तथा विविध कुरामा असर पार्ने उनले बताए।  त्यस्तै अमेरिकामा गरिबीदर उच्च रहेको तथ्य सार्वजनिक भएसँगै त्यसले पनि सुनको मूल्यमा असर परेको विज्ञहरुले बताएका छन्।

यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले अमेरिकामा गरिबी बृद्धिदर उच्च देखिएको भन्दै आवश्यक सुझावहरु दिएको छ। अमेरिकामा प्रत्येक ७ मध्ये १ ले गरिबी जीवनयापन गरिरहेको कोषले जनाएको छ।

यसैबीच चाँदीको मूल्यमा पनि ठूलो बृद्धि भएको छ। सुनसँग प्रत्येक्ष धनात्मक सम्वन्ध रहेकाले चाँदीको पनि मूल्य बृद्धि भएको हो। चाँदी शुक्रबार बढेर प्रतितोला ८ सय २० रुपैयाँ कायम भएको छ। यसअघि हिजो मात्रै प्रतितोला ७ सय ९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।