संघीय गठबन्धनको रिले अनशन आज १८ दिनमा

45

Relay Hunger Strike

काठमाडौं, १० असार – संघीय गठबन्धनले काठमाडौंको खुलामञ्चमा सुरू गरेको रिले अनशनले आज १८ दिन पूरा गर्दैछ । गठबन्धनको रिले अनशनप्रति प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि ऐक्यवद्धता जनाउनु भएको छ । तर सरकारले गठबन्धनलाई औपचारिक रुपमा वार्तामा बोलाएको छैन ।

अनशनले आज १८ औँ दिन पूरा गर्नै लाग्दा पनि सरकारले बेवास्ता गरेको भन्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले आक्रोश व्यक्त गर्नुभएको छ । ‘सरकारले हाम्रा मागलाई शान्ति पूर्ण रुपले सुन्नै चाहेको छैन’, उहाँले भन्नुभयो, ‘नामै नसुनेको मोर्चालाई बोलाएर वार्ता गरिन्छ । तर संघीय गठबन्धनलाई वार्तामा बोलाइँदैन ।’

संविधान पुनर्लेखनको माग गरेर रिले अनशन सुरु गरेको गठबन्धनका संयोजक अहिले भने मुलुक बाहिर हुनुहुन्छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहनु भएका संयोजक उपेन्द्र यादव पार्टीको कार्यक्रममा सहभागी हुन अष्ट्रेलियामा हुनुहन्छ ।

संघीय गठबन्धनको आजको रिले अनशनको नेतृत्व संघीय समाजवादी फोरम नेपालका नेता प्रेम नारायण थापाले गर्नुभएको रामसपाका प्रवक्ता झाले बताउनुभयो ।

अनशनमा मेनेजर ठाकुर, अभिषेक देव, अमेरिका भदवा, रामजी कुँवर, विजयकुमार यादव, आशा चौधरीलगायतको सहभागिता रहेको छ ।