ओली सरकारले गफ हान्ने बाहेक केही काम गरेको छैन : देउवा

90

काभ्रे, १८ असार – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार गफ र उखान टुक्कामा नै सिमित भएको आरोप लगाए छन ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिको भवन शिलन्यास कार्यक्रममा सहभागी हुन बनेपा आएका उनले प्रधानमन्त्रि ओलीको नेतृत्वको सरकार गफ र उखान टुक्कामा नै सिमित भएको भने । देउवाले भने, ‘प्रधानम्न्त्री ओलीज्यूको सरकारले गफ हान्ने र उखान टुक्का भन्ने बाहेक केही काम गरेको छैन।’

‘एउटा हिउँद र दुई वर्षा जान लागिसक्यो, भूकम्पपीडितले घर बनाउन सकेनन्,’ उनले भने, ‘भूकम्पपीडितको अनुदान र सहयोग कांग्रेसको जिम्मेवारी हो, पहिलो किस्तामा डेढ लाख दिलाएरै छाड्छौँ ।’

bit

उनले क्षतिको विवरण संकलन र लाभग्राही सूची प्रकाशित गर्दा चरम राजनीति भएको आरोप लगाउँदै अन्यायमा परेकाको पक्षमा कांग्रेस रहेको बताए । ‘पार्टी निकटको संस्थालाई जिम्मा दिएर नियतवश छुटाइएको छ,’ उनले भने, ‘हामीले कांग्रेस मात्र हैन, जुनसुकै पार्टीका मान्छेहरु छुटेका भएपनि दिलाउन पहल गर्छौँ ।’

सभापति देउवाले सरकारले नै स्थानीय निकायको चुनाव नचाहेको आरोप लगाए । ‘कांग्रेसलाई देखाएर सरकार उम्कन खोज्दैछ, चुनावको घोषणा र तयारी नै मिलेको छैन,’ उनले भने, ‘पुनर्संरचना आयोगले फाल्गुनमा प्रतिवेदन दिन्छ, मंसिरमा कसरी चुनाव सम्भव छ ।’ साउन वा भदौमा नै आयोगको प्रतिवेदन ल्याएर मंसिरमा चुनाव गर्न चुनौती दिँदै उनले चुनावमा सहभागी हुन कांग्रेस तयार भएको दाबी गरे ।

कांग्रेसकी कोषाध्यक्ष सितादेवी यादवले भूकम्पपीडितको पीडा अनुभव गर्न एकदिन त्रिपालमा रात कटाउन प्रधानमन्त्रीलाई आग्रह गरिन् । नेता रामशरण महतले भूकम्पपीडितलाई अनुदान वितरण गर्न पनि एमाले नेतृत्वको सरकारले नजानेको आरोप लगाउादै त्यसको अगुवाई कांग्रेसले गर्नुपर्ने बताए ।

सभापति देउवाले काभ्रेमा २ वर्षभित्र ३ करोडको लागतमा बन्ने पार्टी कार्यलयको शिलान्यास गरेका थिए । पार्टीका कृयाशिल र शुभेच्छुकको चन्दाबाट सम्पन्न गर्ने जिल्ला सभापति मधुप्रसाद आचार्यले जानकारी दिए । कार्यक्रममा १३ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई जिल्ला समितिले बधाई ज्ञापन गरेको थियो ।