कामी बचाऔ अभियानमा सहयोग गर्न अपिल

53

 

बीरगंज १८ असार – जातीय उत्पीडन, वर्गीय विभेदका विरुद्ध र जनजीविकाका पक्षमा निरन्तर गाउँबस्तीहरुमा पुगेर अभियान चलाउने अभियानकर्ता दलमर्दन कामीको स्वास्थ्य अवस्था गम्भीर भएकाले सहयोगको सार्वजनिक अपिल गरिएको छ ।

‘दलमर्दन कामी बचाऔँ’ अभियान चलाउँदै पत्रकार र स्थानीय नागरिकहरुले उनको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन याचना गरेका छन् । विज्ञप्तिमा सीमान्तकृत उत्पीडितको अधिकारका लागि दशकौँदेखि लडिरहेका दलमर्दन कामी विगत केही समयदेखि गम्भीर रुपमा अस्वस्थ भएको उल्लेख गरिएको छ ।

‘चिकित्सकको भनाइ अनुसार कामीको मुटुमा प्वाल परेको छ र, तुरुन्तै उक्त प्वाललाई नटाल्ने हो भने अझै बढी गम्भीर समस्या देखिने छ । जीवन समेत जान सक्ने सम्भावना छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘एक निश्पक्ष, इमान्दार, जुझारु व्यक्तित्वलाई हामीले गुमाउनु भनेको उत्पीडितहरुको आन्दोलनको एउटा नेतृत्वलाई गुमाउनु हो’ भन्दै विज्ञप्तिमा चिकित्सकको भनाइ उद्धृत गर्दै करिब ७ लाख रुपैयाँ मुटुको शल्यक्रियामा लाग्ने बताइएको छ । जीवनभर निरन्तर रुपमा आन्दोलनमा समर्पित भएर काम गरेको हुँदा कामीको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले सबैलाई सहयोग गर्न भनिएको छ ।

अपिलमा सम्पूर्ण नागरिक समाज, अधिकारकर्मी, पत्रकार र सर्वसाधारणलाई आर्थिक सहयोगको उपलब्ध गराउने वातावरण तयार गरिदिन हुन अनुरोध गरिएको शिक्षक मनोज रामले बताएका छन ।