जुत्ताको माला लगाउनेलाई ५ हजारमै उन्मुक्ति

63

वीरगंज, १८ असार – ६४ वर्षीय वृद्धलाई जुत्ताको माला लगाएर गाउँ घुमाएको आरोपमा पक्राउ परेका एक मुखिया सहित ३ जनालाई स्थानीय प्रशासनले ५ हजार रुपैयाँमै उन्मुक्ति दिएको पाइएको छ । वीरगन्ज उपमहानगरपालिका– २१ भवानीपुर निवासी ६४ वर्षीय शिवपुजन साहलाई गत बुधबार जुत्ताको माला लगाएर गाउँ घुमाएको आरोपमा प्रहरीले पूर्व गाविस अध्यक्ष (मुखिया) शिवशंकर पटेल, ब्रम्हदेव पटेल र चौकीदार सुरेन्द्र पासवानलाई गिरफतार गरेको थियो ।

असार ९ गते सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता गरेको ५ औं दिन मंगलबार सांझा जिल्ला प्रशासन कार्यालयले सामाजिक मानमर्दन गर्ने ३ जनालाई ५ हजार रुपैयाँ धरौटी लिई थुनामुक्त हुने आदेश गरेको छ । प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले तीनै जनालाई जनही ५ हजार रुपैयाँ जरिवाना लिएर हाललाई छाडिएको बताए । ‘सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता भएकाले सामान्य भन्दा बढी नै धरौटी लिएका छौ“,’ प्रजिअ घिमिरेले भने, ‘आरोपितले गरेको अपराधमा मुद्दा दर्ता नगरी प्रहरीले अर्कै मुद्दा चलाएको थियो ।’ कानुनविद्धका अनुसार जुत्ताका माला लगाउनेलाई गाली बेइज्जती वा मानहानीमा मुद्दा चलाउनु पथ्र्यो ।

सामान्य अवस्थामा पनि सार्वजनिक ऐन अन्तर्गत दर्ता भएका मुद्दामा प्रहरीले कम्तिमा १५/२० दिन थुनामा राखेर मात्र स्थानीय प्रशासनमा फैसलाका लागि पैठाउने गरेको छ । तर, यो मुद्दा ५ दिनमै फैसलाका पठाउँदा वीरगन्जमा अनेक टिका टिप्पणी सुरु भएका छन् ।

bit

प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले थुनामा रहेका आरोपित वृद्ध र विरामी रहेकाले छिट्टै फैसलाका लागि पठाएको बताए । गत शुक्रबार स्थानीय राजनीतिक दलका नेताहरु आरोपितलाई रिहा गरिदिन जिल्ला प्रशासनमा डेलीगेशन लिएर गएका थिए । सानो जातिले ठूलो जातिको छोरीलाई भगाएर विवाह गरेको भन्दै पञ्चहरुले केटाका बाबुलाई जुत्ताको माला लगाएर गाउँ घुमाउने निर्णय गरेका थिए ।

पञ्चहरुले दिएको समयभित्र साहले आफ्ना छोरालाई गाउँ ल्याउन नसकेपछि उक्त निर्णय गरिएको थियो । साहका छोरा अर्जुन साहले अन्तरजातीय विवाह गरेकाले गाउँका मुखियाले पञ्चायती गरी जुत्ताको माला लगाएर गाउँ घुमाउने उर्दी जारी गरेका हुन् । अर्जुनले सोही गाउँकी रवीनाकुमारी पटेललाई असार १ गते भगाएर विवाह गरेका थिए । उक्त गाविसमा साह जतिको तीन घर परिवार मात्र छन् । गाउँमा सबै भन्दा बढी कुर्मीहरुको बसोबास रहेको छ । अन्तरजातीय विवाह गरेका छोरालाई एक हप्ताभित्र गाउ“मा उपस्थित गराउन स्थानीय पञ्चहरुले शिवपुजनलाई निर्देश गरेका थिए ।

गाउँमा शिवपुजनलाई जुत्ताको माला लगाएर घुमाऊँदै गर्दा उनकै बुहारीले स्थानीय एक नेतालाई फोन गरेर गुहार माग गरेकी थिइन । ती नेताले तत्कालै प्रहरीलाई खवर गरेका थिए । घटना स्थलमा पुगेको प्रहरीले शिवशंकर पटेल र ब्रम्हदेव पटेललाई गिरफ्तार गरेको थियो । स्थानीय भद्रभलादमीको रोहवारमा मिलेर आउने प्रतिवद्धता जनाएपछि प्रहरीले उनीहरुलाई बुधबार छाडेको थियो । तर स्थानीय स्तरमा शिवपुजन साहलाई झनै दवाव र पीडा दिएको थाहा पाएपछि प्रहरीले उनीहरुलाई बिहिवार नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको थियो ।

गाउँका पञ्चहरुले गरेको निर्णय सबैलाई मान्य भएकाले पक्राउ परेकाहरुलाई छाड्नुपर्ने दबाव दिन कांग्रेसका पूर्वसांसद अजय द्विवेदीको नेतृत्वमा कांग्रेसका कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए । गिरफतार भएकाहरुलाई छुटाउनकालागि एमाले, माओवादी केन्द्र, नेकपा संयुक्त र राष्ट्रीय मधेश समाजवादी पार्टीका नेताहरु पनि पुगेका थिए । स्थानीयका अनुसार भागेर अन्तरजातीय विवाह गरेका अर्जुन र रवीना कुमारी गत बुधबार गाउ“ फर्किएका छन् । उनीहरु आ–आफ्नो घरमा बसिरहेका छन् ।