ढाकामा बनाइएका बन्धक मुक्त, मारिए ६ आतंकवादी

    68

    ढाका, १८ असार – बंगलादेश सुरक्षाकर्मीले ढाकाको गुलशन स्थित एक क्याफेमा पछिल्लो ११ घन्टादेखि बन्धक बनाइएका २० जनालाई मुक्त गरेको छ ।

    सुरक्षाफौजले आक्रामक अभियान चलाउँदै बन्धकहरुलाई मुक्त गराएको बीबीसीले जनाएको छ । सुरक्षा फौजले बन्धकहरुलाई रेष्टुराबाट मुक्त गरेपनि उनीहरु घाइते भएको जनाइएको छ ।

    प्रत्यक्षदर्शीहरुले आतंकवादीहरुले बन्धक बनाएको होले आर्टिजन बेकरीमा केही घन्टाको मौनतापछि गोलाबारीको आवाज सुनिएको बताएका छन् ।

    किन भयो आईएसको आक्रमण ?

    बंगलादेशको राजधानी ढाकामा भएको आतंकवादी आक्रमणको जिम्मा चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले लिएको छ ।

    ढाकाको सुरक्षित गुलशन इलाकामा आक्रमण भएको हो । बंगलादेशमा यसअघि पनि यसप्रकारका हत्याका घटनाहरु हुने गरेका थिए । तर ती आक्रमण आतंकवादी नभएर धार्मिक अतिवादीहरुले गराएका थिए ।

     

    ती आक्रमणहरुमा हत्यापछि हत्यारा फरार भएका घटना सार्वजनिक हुन्थे । तर यो आक्रमणमा आतंकवादीहरुले बन्धक बनाउने कार्य गरेका छन् । शुक्रबार साँझबाट उक्त इलाकालाई पूरा बन्द गरिएको थियो ।

    यस्तो सुरक्षा व्यवस्था बंगलादेशमा कहिल्यै नदेखिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । बंगलादेशमा शुक्रबार साँझ करिब साढे ८ बजे सुरु भएको आक्रमणपछि कमाण्डो आउन नै करिब १२ बजे सम्म लाग्नुले बंगलादेशको सुरक्षा बल आतंकवादको सामना गर्न तयार भइसकेको छैन भन्ने पुष्टि हुन्छ ।

    कुनै पनि आतंकवादी आक्रमण र बन्धक बनाइसकेको अवस्थामा कम्तिमा पनि आधा घन्टामा कमाण्डोले जवाफी कारबाही गर्न सक्नु पर्दथ्यो तर त्यो भएन ।

    जुन गुलसन इलाकालाई इस्लामिक स्टेटले आक्रमणका छान्यो, त्यो राजनीतिक दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छ किनकी बंगलादेशको यो सबैभन्दा सुरक्षित क्षेत्र हो । यसले इस्लामिक स्टेटले जुनसुकै बेला पनि आक्रमण हुन सक्ने सन्देश दिएको छ ।