पर्सा बिकासको समस्या चुनौती र सम्भावना

159

पर्सा, महेन्द्र राजमार्गले नछोएको तराईको एक मात्र जिल्ला हो । महेन्द्र राजमार्गले नछुदैमा बिकास हुनु हुदैन भन्ने मान्यता आफैमा ठिक होइन । तर मुलुकको राजधानी सम्मको पहुचका हिसावले पर्सा नजिकको जिल्लामा पर्छ । नेपालको प्रवेशद्वार हुनु र नेपालको आयात निर्यात ब्यापारको केन्द्र हुनुको नाताले राजधानीसंग नजिकको जिल्लामा पर्ने भएकोले पर्साको महत्व निकै छ । पर्साको सदरमुका बीरगंजलाइ मुलुकको आर्थिक राजधानीको उपमा मिलेकै छ ।

यो उपमाका कारण पर्सा जिल्ला र जिल्लाबासी सम्पन्न र सुखी छन भन्ने नेपालका अन्य क्षेत्रका नागरिकलाई लाग्नु स्वभाविक हो । तर पर्सा जिल्लाका नागरिकको जीवनस्तर त्यस रुपमा उठ्न सकेको छैन । राज्यको लगानीमा निर्माण भएको मुलुक भित्रकै कच्चा पदार्थबाट चल्ने चीनी कारखाना बन्द छ । कृषिलाई बैज्ञानिकीकरण गर्न मद्धत पुग्ने गरी औजारहरुको निर्माणकालागि राज्यले निर्माण गरेको कृषि औजार कारखाना पनि बन्द छ ।

बीरगंज केन्द्रीत ब्यापारले बीरगंज बाहिरको जनजीवनमा खुशीयाली ल्याउन सक्ने अवस्था छैन । कृषिमा आधारित अर्थतन्त्र भारतीय उत्पादनहरुका कारण थिलथिलो भएको छ । कृषि उत्पादनमा लागत अधिक भएकोले नेपाली किसानले नै आफ्नो उत्पादनबाट लागत उठाउन सक्ने अवस्था राष्ट्रीय रुपमै नभएको अवस्थामा पर्साका किसानले मात्र मुनाफा आर्जन गर्न सक्छन भन्ने तर्क गर्ने कुरै भएन । तर कृषिमा आधारित अर्थतन्त्र मजबुत हुन नसक्ने कारण भने छैन । त्यसकालागि राज्यले नीतिगतरुपमा केही सुधार गर्नु पर्ने खाँचो छ । कृषिमा सिचाईको अभाव छ । ब्यवसायीक खेतीको आधार बन्न सकिरहेको छैन ।बिकास सदरमुकाम केन्द्रीत छ ।

सदरमुकामको बिकासलाई नियाल्दा सदरमुकाम बाहिर के बिकास भयो होला भन्ने अनुमान लाउन केही कठिनाई हुने छैन । मुलुकमा रोजगारीको अवसर छैन । अन्य जिल्लाहरुबाट युवाहरु रोजगारीकालागि बिदेश जसरी पलायन भएका छन त्यही नियती पर्साको पनि छ । शिक्षाको क्षेत्रमा गुणात्मक बिकास हुन सकेको छैन । समाजलाई अगुवाई गर्ने चिन्तन र चरित्र बोक्नेहरुको ध्यान पर्साको समृद्धि प्राप्तिका निम्ति पटक्कै छैन । स्वयं अधिकांश अगुवाहरु बौद्धिक क्षमता राख्दैनन ।

त्यस्तोले गर्ने नेतृत्वले समाजको बिकास कसरी होला ? यो खाले चिन्तन आजको शिक्षीत कहलाउन रुचाउने जमातमा पनि छैन । अझ सम्भावना भएको यो जमातमा निराशा र कुण्ठा मात्र छ जसको सोच्ने तरिकामै नकारात्मकताको बिकास भएको छ जसले पर्साको उन्नतीका ढोकाहरु खोल्ने जमर्को गर्ने भन्दा पनि अवन्नती तर्फ लैजाला भन्ने चिन्ता ब्याप्त छ । उच्च शिक्षण संस्थाको लडाई लामो भयो स्थापित हुन सकेको छैन । मुलुकका अन्य साना शहरहरुले बिश्व बिद्यालय खोल्ने अवसरमात्र पाएनन जमर्को समेत गरिसके तर पर्साले भने अझै लडिरहनु परेको छ । भौतीक पूर्वाधार निर्माणको कुरा गर्ने हो भने सदरमुका भन्दा बाहिर १ किलो मिटर पिच सडक पर्सामा छैन ।देशको प्रमुख स्थल भन्सार बीरगंज हो र राम्रो औधोगिम करिडोरपनि यही छ जसले गर्दा रोजगारीका निम्ति भारतीय श्रमीकहरुको चाप अधिक नै छ ।

शिक्षा बिकासको पूर्वाधार हो । शिक्षा बिना बिकास सम्भव छैन भन्ने कुरा समाजमा स्थापित हुन सकेन । जसले गर्दा पनि बिद्यालयमा भर्ना भएका वालवालिकाहरु वीचमै बिद्यालय छोडीरहेका छन। शिक्षामा राज्यको लगानी बालुवामा पानी सरह भएको छ । यस्तो अवस्थाको जिम्मेवारी लिने कुनै निकाय छैन । प्रणाली नै यति अनुत्तरदायी छ की पर्साको बिकासलागि लामो समय कुर्नु पो पर्ने हो की भन्ने लाग्छ । जनचेतनाको कमी छैन तर ब्यवहारमा परिर्वतन आएन । लैङ्गि बिभेदले आज पनि पर्साको समाजमा सामाजिक स्वीकारोक्ती पाइरहेको छ ।कृषिलाई आधुनीकीकरण गर्न सकिएको छैन ।उद्यमशीलतको अभाव छ। बिशेषत बीरगंज र समग्र जिल्लानै लागू औषध ओसार पसारको ट्रान्जिट बनेको छ । पर्यटकहरुलाई भित्र्याउने योजना छैन ।बीरगंजलाई मध्य तराईको शैक्षीक र स्वास्थ्य उपचारको हव बनाउने गरि योजनाको निर्माण र क्रियान्वयनमा जाँगर नदेखिनु पर्साको बिकासका अवरोधपूर्ण सूचक हुन ।

पर्साको यो दुरावस्थाको कारक बिकासमुखी राजनीतिको अभाव हो । सबै राजनीतिक दलहरुले जनताको दुहाई दिन्छन । तर एउटा पूल बनाउनु प¥यो भने दलहरु एक ठाउँमा उभिदैनन । समस्या यही हो । जनताले उपभोग गर्ने पुलबन्दा राजनीतिक दलहरुलाई घाँटा काहा हुन्छ ? घाटा नहुने काममा दलहरु एक हुन छोडेर किन भागबण्डामा लाग्छन । अनि किन उपभोक्ताको नाममा आफना मान्छेहरु राखेर बिकासको रकम दुरुपयोग हुने वतावरण निर्माण गर्छन ? जव सम्म राजनीतिक नेतृत्वले बिकासको कुरालाई जनतासंग जोडने वतावरण बनाउदैन त्यतीवेला सम्म उनीहरुले जनतासंग बेइमानी मात्र गरिरहन्छन पर्सा जिल्लाले यही नियती भोगी रहेको छ ।

नागरिकको स्वास्थ्यप्रति राज्यका निकायहरु त सम्बेदनशील हुन सकेका छैनन । उनीहरु त तदर्थबादमा सिमीत छन । कार्यक्रमकालागि कार्यक्रम गरेका छन। त्यसको गुणात्मक परिर्वतनसंग उनीहरुलाई मतलब छैन । त्यो भन्दा बढी गतीछाडा राजनीति नेतृतव भएको छ । वालबिवाह नियन्त्रण गर्न राजनीतिक दलहरुले आज सम्म अभियान चलाउन सकेका छैनन । खुला दिशामुक्त क्षेत्र बनाएर आफ्ना नागरिकको स्वास्थ्यको रक्षामा दलहरुले आफ्नो भूमिका देखाउन सकेका छैनन । महिलालाई उनीहरुको क्षमता अनुसारको अवसर दिने काम भएको छैन । राजनीतिक दलहरुले वालविवाह गर्नेलाई, छुवाछुत गर्नेलाई र खुला ठाउँमा दिशा गर्नेलाई पार्टीमा जिम्मेवारी दिइने छैन भन्ने जस्ता अभियान चलाउने हो भने त्यसले निकै सुधार ल्याउन सक्छ ।

हुलाकी राजमार्गको निर्माण,काठमाण्डौ निजगढ फास्टट्रयाक,निजगढ अन्तराष्ट्रीय बिमानस्थलको निर्माण पर्सा बिकासका महत्वपूर्ण आधार हुन तिनको निर्माणमा राजनीतिक हस्तक्षेप बढाउन जरुरी छ ।कृषिमा आधुनिकीकरण,ब्यवसायीक माछा पालन,दुग्ध डेरी,पशुपालन ,फलफूल र तरकारी खेतीलाई प्रोत्साहन मिल्ने गरि नीति बनाउन आवश्यक छ ।उद्यमशिलताको बिकास र प्रविधिमा आजको युवाको पहुचलाई सुनिश्चित गर्न सक्ने गरि आधार निर्माणमा राजनीतिक नेतृत्वले पहलकदमी लिनु पर्छ । धार्मिक पर्यटनको पूर्वाधार बिकासमा ध्यान दिदै पर्सा बन्यजन्तु आरक्षलाई पर्यटकीय गन्तब्यकेन्द्रको रुपमा बिकास गर्न ध्यान दिन जरुरी छ ।

पर्साको ठोरी र सुवर्णपुर जस्ता दुर दराजका स्थानमा पर्यटकहरुलाई आकर्षित गर्न होमस्टेहरु संचालनमा आएका छन । जनस्तरबाटै शुरु भएको यो अभियानलाई टेवा दिन जंगल सफारी जस्ता कामको शुरुवात गर्ने आधार बनाउन स्थानीय प्रशासन र राजनीतिक नेतृत्वले ध्यान दिन सकेको खण्डमा पर्सा बिकास हुनै नसक्ने क्षेत्र हैन भन्ने कुरा देखा पर्छ । यसो गर्न सकेको खण्डमा पर्साको मुहार केही वर्षमै पुलकीत हुन सक्छ ।