७ ओटा जुट उद्योग बन्द, ‘५ हजार मजदुर–कर्मचारी बेरोजगार’

85

बिराटनगर, ९ असार – मोरङ–सुनसरी औद्योगिक करिडोरमा सन्चालित ७ ओटा जुट उद्योग बन्द भएका छन् ।

सरकारले दिने सुविधा क्रमशः कटौती हुन थालेपछि ती उद्योग बन्द भएका हुन् ।

नेपाल जुट उद्योग संघकाअनुसार अहिले यस करिडोरमा ४ ओटामात्र उद्योग जेनतेन चलिरहेका छन् ।

भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेका कारण धेरै उद्योग बन्द हुन पुगेका हुन् । अहिले नेपाल जुट इन्डस्ट्रिज, अरिहन्त मल्टिफाइबर्स, बाबा जुट र स्वस्तिक जुट सन्चालनमा छन् ।

जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छा भारतीय उत्पादनसित नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बन्द हुन पुगेका बताउँछन् ।

यस्तै, बिजुली अभाव, सरकारीस्तरबाट सहयोग नहुँदा उद्योग बन्द गर्नुपरेको बाबा जुट उद्योगका सन्चालक प्रकाश मुन्दडाको भनाइ छ ।

जिल्लाका नरेश राठीको गुह्ेश्वरी जुट मिल्स, त्रिभुवनमानसिंह श्रेष्ठको निक्की जुट, नन्दकिशोर राठीको सिएम जुट उद्योग, विराटनगर जुट मिललगायत उद्योग बन्द छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवाल डेढ मेगावाट बिजुली दिन सरकारले नसकेपछि ती उद्योग बन्द भएका बताउँछन् ।

‘सरकार गम्भीर नहुँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आइपरेको हो’–उनले भने ।

४ ओटा उद्योग बन्द हुँदा करिब रु एक सय करोड नोक्सानी भएको उद्योग सन्चालकहरुको भनाइ छ ।

उद्योग बन्द हुँदा करिब पाँच हजार मजदुर र कर्मचारी बेरोजगार बनेका बताइएको छ । रासस