नेपाल-भारत सम्बन्ध सन्धीसम्झौता भन्दा माथि छ : उपप्रधानमन्त्री थापा

70

काठमाडौँ, २० असार – उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र भारतबीच विगतमा भएका सन्धी सम्झौता पूनरावलोकन गर्नुपर्ने बताएका छन्। सोमबारदेखि काठमाडौंमा सुरु भएको नेपाल-भारत प्रबुद्ध व्यक्तिहरु समूह (इमिनेन्ट पर्सन्स ग्रुप) को बैठक उद्‍घाटन गर्दै उनले वर्तमानका आवश्यकता सम्बोधन हुने गरी दुई देशबीच भएका सन्धी सम्झौता पुनरावलोकन गर्नुपर्ने बताएका हुन्।

‘हामीले ५० वा १०० वर्ष पहिले सोँचेका कुरा अहिलेको वास्तविकतामा उत्तिकै सत्य नहुन सक्छन्। यो कुरा दुई देशबीचको सम्बन्धमा पनि लागू हुन्छ किनभने सम्बन्ध परिवर्तनसँगै गतिशील र प्रगतिशील हुन्छन्’, परराष्ट्रमन्त्री थापाले भने, ‘सम्बन्धमा आएको गतिशीलता र परिवर्तनलाई हामी नजरअन्दाज गर्न सक्दैनौँ। त्यतिबेला हामीलाई दिशानिर्देश गर्ने सन्धी सम्झौताहरुलाई आजको आवश्यकता सम्बोधन गर्ने गरी उपयुक्त पुनरावलोकन आवश्यक पर्न सक्छ।‘ ‘१९५० को तुलनामा अहिले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा फेरबदल आएको’ उल्लेख गर्दै परराष्ट्रमन्त्री थापाले ‘प्रबुद्ध व्यक्ति समूह’ बाट आपसी सम्बृद्धि, शान्ति र सद्‍भाव अभिवृद्धिका दिशामा खुलेर छलफल हुने अपेक्षा गरे।

BIT

‘सन्धी र सम्बन्ध’ थापाले परापूर्व कालदेखि नै नेपाल र भारतबीच प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै औपचारिक दस्तावेज र सन्धीले मात्र दुई देशको सम्बन्धको गहिराई देखाउन नसक्ने बताए। ‘हामीबीचको सम्बन्ध यति व्यापक र बहुआयामिक छ कि औपचारिक दस्तावेज र सन्धीहरुले मात्र हाम्रो सम्बन्धको गहिराईलाई पक्डिन सक्दैनन्’, थापाले भने। नेपाल र भारत समान संस्कृति र सभ्यता रहेको उल्लेख गर्दै थापाले दुई देशबीचको सम्बन्ध पशुपतिनाथदेखि तिरुपतिसम्म, लुम्बिनीदेखि बोधगयासम्म, मुक्तिनाथदेखि अमरनाथसम्म र जनकपुरदेखि अयोध्यासम्म रहेको चर्चा गरे।

नेपाल र भारतबीच रहेको खुला सिमानाले दुई देशबीचका नागरिकलाई अद्वित्तीय रुपमा निकट राखेको थापाले बताए। ‘हामीबीचको खुला सिमानाले दुई देशका नागरिकलाई अद्वत्तीय रुपमा नजिक राखेको छ। हामी एकअर्कालाई विश्वास गर्छौँ र एकताको भावनासहित एकअर्काको सम्वेदनशीलतालाई सम्मान गर्छौँ’, थापाले भने, ‘हामी एउटै यात्रामा छौँ र असल छिमेकीका रुपमा अगाडि पनि सँगसँगै नै जाने छौँ।‘ नेपाल र भारत असल मित्र भएको चर्चा गर्दै थापाले कहिलेकाहीँ मित्रतामा अड्चन आउनु अस्वभाविक नभएको बताए। ‘मैले स्वीकार गर्नैपर्छ कि असल छिमेकी हुँदाहुँदै पनि हामीबीचको सम्बन्धमा अड्चनका उदाहरण पनि छन्’, उनले भने, ‘यति गहिरो र बहुआयामिक सम्बन्ध भएका मित्रबीच यस्तो हुनु अस्वाभाविक होइन।

कहिलेकाहीँ समाजमा पनि मतभेदहरु देखिन्छन्, र छिमेकीहरुबीच पनि यस्तो हुन्छ।‘ नेपाल र भारतका आआफ्ना राष्ट्रिय स्वार्थ भएपनि राष्ट्रिय स्वार्थ पूर्ति गर्दा द्वन्द्वबाट नभइ एकअर्काका समस्या र आकांक्षालाई सम्मान गर्ने तथा एकअर्कालाई आवश्यक पर्दा सहयोग गर्ने संस्कृति दुई देशबीच रहेको उनले बताए। थापाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले सफलता हासिल गरेकोमा प्रशंसा गर्दै उनको ‘छिमेकी पहिला’ नीतिले यस क्षेत्रमा उच्च आशावादिता जगाएको उल्लेख गरे। प्रबुद्ध व्यक्तिहरुको समूहको बैठकबाट नेपाल भारतबीचको सम्बन्ध अझ बलियो, अग्रगामी र प्रगतिशील हुने विश्वास लिएको थापाले बताए। नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरवलोकनका लागि सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको पहिलो बैठकमा दुवै मुलुकबीच अहिले भइरहेको सन्धी सम्झौतालाई कसरी पुनरवलोकन गर्ने र अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा समग्र रुपमा छलफल हुनेछ। पहिलो बैठक भएकाले छलफलको विधि कस्तो बनाउने र कसरी अघि बढ्ने भन्ने सम्बन्धमा बैठक केन्द्रित हुने समूहका सदस्यहरुले बताएका छन्। दुई वर्ष कार्यकाल रहने समूहको संयुक्त बैठक प्रत्येक तीन/तीन महिनामा बस्नेछ। दुबै मुलुकले पहिलो पटक गठन गरेको उक्त समूहले सम्बन्ध सुधारका लागि महत्वपूर्ण र फराकिलो क्षेत्राधिकार पाएको छ।