बालुवाटारमा प्रचण्ड र प्रधानमन्त्री ओली बीच गम्भीर छलफल

87

काठमाडौँ, २० असार – मधेसवादी दल र आदिवासी जनजाति समूहलाई समेत वार्तामा ल्याएर राष्ट्रिय समस्याको समाधान गर्ने लक्ष्यसहित नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमतिको सरकारको पहल गर्ने निर्णय गरेपछि त्यसले राजनीतिमा नयाँ तरंग ल्यायो ।

त्यसको भोलिपल्ट अर्थात आइतबार नेपाली कांग्रेस र माओवादीका नेताबीच राष्ट्रिय सहमतिको सरकारको पहल गर्ने विषयमा गोप्य छलफल भएका समाचार पनि बाहिर आए ।

BIT

गत वैशाखमा प्रमुख सत्तारुढ दल नेकपा (एमाले) र माओवादी केन्द्रका बीच नौ बुँदे सहमति भएको थियो । उक्त सहमति कार्यान्वयन नभएको भन्दै पछिल्लो असन्तुष्टि व्यक्त गर्दै आएको माओवादी केन्द्र र कांग्रेसबीचको गोप्य छलफलले राजनीतिमा झन् ठूलो तरंग पैदा गरिदियो ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार फेरवदल हुने चर्चालाई त्यो गोप्य छलफलले झन् सतहमा ल्याईदियो । अब ओली सरकार कति दिन ? प्रचण्ड नै प्रधानमन्त्री बन्लान त ? कतै यो खेल शेरबहादुर देउवा प्रधानमन्त्री बन्नका लागि त होइन ? यस्तै चर्चा बाहिर चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने सोमबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगे ।

प्रधानमन्त्री ओलीसँग करिब एक घण्टा विताएका प्रचण्डले शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले गरेको निर्णय सुनाए । त्यसपछि उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा निकै गम्भीर छलफल भयो । राष्ट्रिय सहमतिको सरकार नबनेसम्म मुलुकका विद्यमान समस्या समाधान हुन नसक्ने र त्यसमा प्रमुख राजनीतिक दल एकै ठाउँमा आउनुपर्नेमा जोड दिदैँ आएका प्रचण्ड प्रधानमन्त्रीसँगको भेटमा भने केही नरम बनेका थिए ।

भेटका क्रममा उनीहरुबीच असार २४ गते संसदबाट बजेट पास गर्ने विषयमा पनि कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । ‘भेटका क्रममा पछिल्लो राजनीतिक अवस्था र यसलाई कसरी हल गर्ने भन्ने विषयमा पनि गम्भीर कुराकानी भयो,’ बालुवाटार स्रोतले भन्यो । करिब १० बजेटिर बालुवाटार छिरेका प्रचण्डले करिब एक घण्टा छलफलमा विताएका थिए ।