सलमानको ‘बलात्कृत महिला’ फन्दा कायमै, सलीम कड्किए !

73
मुम्बई, २० असार – बलिउड अभिनेता सलमान खानले आफ्नो चलचित्रको प्रमोशनका क्रममा आफू बलात्कृत महिला (रेप्ड वुमन) जस्तो भएको प्रतिक्रया दिएपछि विवादमा तानिएका छन् । बुधबारदेखि सिनेमाहलमा लाग्दै गरेको चलचित्र सुल्तानको प्रवद्र्धन गर्ने क्रममा कस्तो महसुस भएको छ भन्ने प्रश्नमा उनले यो चलचित्र गर्दा निकै थकित भएको जनाएका थिए ।
तर त्यसलाई प्रस्तुत गर्ने क्रममा भने बलात्कृत महिलाजस्तो भएको संज्ञा दिएसंगै उनी संचारमाध्यम एवं सामाजिक संजालमा विवादमा तानिएका हुन् । उनलाई भारतीय महिला आयोगलेसमेत स्पष्टिकरण सोधेको थियो । यसैबीच, सलमानका बाबु सलीम खान यो मामलामा निकै गम्भीर बनेका छन् । उनले भनेका छन् ‘सलमानको तर्फबाटै मैले माफी मागेको थिएँ, त्यो माफीपछि विवाद साम्य हुने ठानेको थिएँ, तर संचारमाध्यमले भने यो विषयलाई निकै उछालेको छ ।’
सलीमले सलमान मुद्दा लम्बिएपछि आइतबारमात्र तीन वटा ट्वीट गर्दै माफी मागेर पनि यो विषय लम्बिएला भनी नसोचेको प्रतिक्रिया जनाएका छन् । उनले संचारमाध्यमले यति लामो विषय बनाउला भनेर आफूले ख्यालसम्म गर्न नसकेको बताए । सलीमले सलमानले कुनै अपराध नगरेकोसमेत स्पष्ट पारेका छन् । हालका दिनमा सलमान खानलाई संचारकर्मीले माफी कहिले माग्ने हो भनेर सोध्ने गरेका छन् । शनिबारमात्र पनि सोधिएको यही प्रश्नमा सलमान ती संचारकर्मीलाई घुरेर निस्किएका थिए ।
सलमानको रेप्ड वुमनलाई चर्चामा आउने मसलाका रुपमा लिए पनि यसबारे चलचित्रकर्मीबीच नै मतभेद चर्किएको छ । सलमानको बचाउमा थुप्रै कलाकारसमेत उभिएका छन् । सलमानले बुधबारदेखि आउने चलचित्र सुल्तानमा एक कुस्तीबाजको भूमिका खेलेका छन् । चलचित्रमा अनुष्का शर्मा पनि छिन् ।