‘सरकार ढाल्न खाेज्नेलाई पाप लाग्ला है’ : प्रधानमन्त्री

277

काठमाडौं २१ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ढालेर मुलुकलाई अस्थिरतातिर लैजान नहुने बताएका छन् ।

काठमाडौंमा मंगलबारदेखि सुरु भएको नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार परिवर्तन हुने हल्लाको पछाडि सत्यता नभएको जिकिर गरे ।

कार्यक्रममा बोल्दै उनले सरकार हटाउन हतार गर्नेलाई पाप लाग्ने समेत बताए । उनले भने ‘फेरि चुनाव आउँछ, जनताले हेरिरहेका छन्, सरकार हटाउन खोज्नेलाई फेरी पाप लाग्ला है ।’

कार्यक्रममा बसेका माओवादी नेता कृष्णबहादुर महरा पनि प्रधानमन्त्रीको अभिव्यक्तिपछि लामो समय हाँसेका थिए । महरा माओवादीभित्र सरकार फेर्ने अभियानका नेतृत्वकर्ता हुन् ।

प्रधानमन्त्रीले आफ्नो सरकार ‘कसैको आशिर्वादमा नबनेको’ उल्लेख गर्दै सरकार ढाल्ने प्रयत्न नगर्न आग्रह गरे । ‘कसैले सरकारका बारेमा के भन्छ, कसैले सरकारका बारेमा कसो भन्छ, म तपाईंहरुलाई निवेदन गर्न चाहन्छु अहिले विभिन्न कुरा गर्नेहरुको आशिर्वादमा भनेको होइन, जनताको आर्शिवादमा बनेको हो,’ उनको भनाइ थियो ।

मधेसवादी दलहरुप्रति लक्षित गर्दै प्रधानमन्त्रीले आन्दोलन छाडेर विकासमा सहयोगी बन्न अपिल गरे ।