क्रिकेटको उर्वर भुमी कलैया प्रति ध्यान दिन अपिल

562

वीरगंज, २२ असार÷
नेपाली क्रिकेट ईतिहासमा बारा जिल्लाको योगदान सम्पुर्ण नेपालीमा सर्वविदितै छ । नेपाली क्रिकेटलाई विश्व सामु चिनाउने बारा जिल्ला अहिले ओझेलमा पर्न थालेको छ । नेपाली क्रिकेट क्लबमा बारा जिल्लाले उत्कृष्ट खेलाडी पठाउन सफल भए पनि आर्थिक अभाव र भौतिक पुर्वाधारको अभावले यस कार्यलाई निरन्तरता दिन कठिनाई भएको बुझिएको छ ।
जिल्लामा भएका खेल मैदानहरु अतिक्रमणको चपेटामा पर्नु , भएका खेलमैदानहरु उचित मर्मत संभार एवं संरक्षण हुन नसक्नु र राज्यले यस जिल्लामा बिशेष गरी क्रिकेट खेलमा लगानी नगर्नुले बारा जिल्लाबाट क्रिकेट खेल पलायन हुने बारा जिल्ला क्रिकेट संघका कोषाध्यक्ष संदिप बरईले चिन्ता व्यक्त गरे । बरईले स्थानीय संघ संस्थाहरुले आयोजना गर्ने क्रिकेट प्रतियोगिता बाहेक बारा जिल्लामा राष्ट्रीय लगानीमा कुनै प्रतियोगिता नहुने गरेको बताए । बरईले बारा जिल्ला क्रिकेट खेलको उर्वर भुमि भएको र यहाँबाट नेपालको पहिलो क्रिकेट क्याप्टेन पवन अग्रवाल, पुर्व क्याप्टेन बिनोद दास, राष्ट्रीय खेलाडीहरु संजम रेग्मी , कनिश चौगाई , बिकास दली, शरद पोखरेल, अमृत पोखरेल, सुभाष जैसवाल, बिवेक दली, पवन सर्राफ र रबि साह लगायत खेलाडी राष्ट्रिय टोलीमा पर्न सफल भएको बताए ।
बरईले नेपाली क्रिकेट जगतमा महत्वपुर्ण योगदान गरेको बारा जिल्लालाई ध्यान नदिएको आरोप लगाउदै आफनो लागनीमा क्रिकेट खेलीरहेका खेलाडीलाई समेत सरकारले प्रोत्साहन नगरेको र राज्यले बारा जिल्ला प्रति सौताको व्यवहार गरेको आरोप लगाए ।
राष्ट्रको न्यून लगानीमा बारा जिल्लाले महत्वपुर्ण प्रगति गरेको र हालै मलेसियामा सम्पन्न यु– १६ क्रिकेट प्रतियोगितामा बारा जिल्लाका खेलाडीहरु पवन सर्राफ र रबि साहले उत्कृष्ट प्रर्दशन गर्दै बारा जिल्ला क्रिकेट खेलमा अब्बल रहेको प्रमाणित गरेको क्रिकेट प्रेमी करण साहले बताए । साहले भौतिक पुर्वाधार र उचित व्यवस्थापन गर्न सके बारा जिल्लाले हरेक बर्ष नयाँ नयाँ राष्ट्रीय खेलाडी उत्पादन गर्न सक्ने दावी गरे ।
राष्ट्रको उदासिनताको कारण यस क्षेत्र बाट क्रिकेट खेल र खेलाडीहरु पलायन हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै यस कार्यलाई राज्यले अबिलम्ब रोक्नु पर्ने नेपाल बुद्धिचालका केन्द्रीय सदस्य रामकिसोर सिंह परागले बताए । परागले बारा जिल्ला नेपाली क्रिकेटको जन्मदाता भएको टिप्पणी गरेको । यस्तो महत्वपूर्ण क्षेत्रको खेलकुद बिकासकालागि सम्पुर्ण क्रिकेट खेल प्रेमीहरुले सरकारलाई निरन्तर खबरदारी गर्नुपर्ने बताए ।
हालै मलेसियामा सम्पन्न यु – १६ क्रिकेट प्रतियोगितामा म्यान अफ दि म्याच भएका राष्ट्रीय खेलाडी पवन सर्राफले खेल मैदान, कोच र पर्याप्त खेल सम्रागी नहुदाँ खेलाडीहरुलाई अप्ठ्यारो परेको बताए । सर्राफ अनुसार सिद्धेश्वर क्रिकेट मैदानमा पर्खाल नहुदाँ खेल खेल्न समस्या हुने गरेको बताए । सर्राफले चौका , छक्का हान्दा बल घर भित्र छिर्दा गाली खानु पर्ने बाध्यता रहेको बताउदै पर्खाल अभावमा खेल समयमा साईकल,मोटरसाईकल गुडाईदिदा र चौपाया छाडा छोडदा समस्या हुने गरेका बताए ।
सिद्धेश्वर क्रिकेट मैदानलाई राम्ररी मर्मत संभार गर्न सके त्यहाँ पनि राष्ट्रिय स्तरको प्रतियोगिता गर्न सकिने बारा जिल्ला क्रिकेट संघको दावी रहेको छ । संघका अनुसार प्याराफिट निर्माण र बिजुली बत्तीको राम्रो प्रबन्ध गर्न सके त्यहा पनि डे नाइट क्रिकेट प्रतियोगिता सजिलै संचालन गर्न सकिने कोषाध्यक्ष संदिप बढइले बताए ।
बारा जिल्लाको गौरव र सम्पतिको रुपमा रहेको क्रिकेट खेलको संरक्षण लागि स्थानीय निकाय , बुद्धिजिवी र राज्यले बेलैमा बिशेष पहल गुर्नपर्ने आवश्यकता देखिन्छ । खेलमा अनावश्यक राजनिती गर्नु भन्दा पनि खेलको बिकासमा जोड दिनु आजको आवश्यकता देखिन्छ ।