पिठियाकर ठेकेदारद्वारा वीरगंज उप-नगरपालिकाविरुद्ध मुद्दा

273

वीरगंज, २२ असार – वीरगंज उप-नगरपालिकाबाट २०७२–०७३ लागि हाट बजार पिठियाकरको ठेक्का लिएका ठेकेदारले पनि सवारी कर ठेक्का सरह क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा दिएका छन् ।

आर्थिक वर्ष २०७२–०७३ को लागि ठेक्का सकार गरेका ठेकेदार राजकिशोर गुप्ताले मधेस आन्दोलनको कारण ६ महिना हाटबजार, पिठियाकर सड्ढलन गर्न नसकेको भन्दै ठेक्का सकार गरेको वार्षिक ६० लाखबाट आधा रकम क्षतिपूर्ति बापत कट्टा गर्न वीरगंज उप-नगरपालिकामा निवेदन दिएका र सो निवेदनमा कारबाई नभएपछि अदालतमा मुद्दा दिएको बताइएको छ ।

वीरगंज उप-नगरपालिकाले मधेस आन्दोलनको क्रममा स्थानीय प्रशासनबाट लगाइएको निषेधाज्ञा, कफ्र्यु आदेश समयको मात्र क्षतिपूर्ति दिनेगरी कुल १ महिनाको क्षतिपूर्ति दिने निर्णय गरेको कार्यकारी अधिकृत विष्णु कोइरालाले बताए ।

उनले जिल्ला प्रशासनबाट निषेधाज्ञा र कफ्र्यु आदेश जारी भएको दिन गन्ती गर्दा १ महिना अवधि देखिएको र सोही बापत क्षतिपूर्ति दिन वीरगंज उप-नगरपालिका तयार भएको बताए ।

मधेस आन्दोलन ६ महिना सञ्चालन भए पनि हाटबजारहरू सञ्चालनमा रहेको र ठेकेदारले पनि कर सड्ढलन गरेको हुँदा क्षतिपूर्ति दिन नसकिने वीरगंज उप-नगरपालिकाको तर्क छ ।

हाटबजार, पिठिया करका ठेकेदारले सुक्खा बन्दरगाह क्षेत्रमा सवारी साधन, चामललगायत मिलहरूबाट अनधिकृत रूपमा हाटबजार पिठिया करको रसिदमा कर सड्ढलन गर्दै आएको समाचारहरू प्रकाशमा आएका थिए ।

यस अघि पटके सवारी करको ठेक्का लिएका दुईजना ठेकेदार क्षतिपूर्तिको माग गर्दै अदालतमा हालेको मुद्दा हालसम्म विचाराधीन छ ।

प्रतीक दैनिक बाट