प्रहरीको एसएलआर लुट्ने पक्राउ

154

वीरगन्ज– मंगलबार राति पर्सा र वाराका गाउ“लेबीचको झगडा नियन्त्रण गर्न पुगेको प्रहरीको हतियार लुटने १५ जना पक्राउ परेका छन् । लुटिएको एसएलआर र थ्री नट थ्री राइफल समेत प्रहरीले बरामद गरेको छ । वाराको रामवन र पर्साको चोर्नी गाविसका स्थानीय बीच राति झगडा भइरहेको तथा ठूलो संख्यामा स्थानीयको भीड जम्मा भएको सूचना पाउनासाथ राति करिब १० बजेको समयमा इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा पुगेको थियो । झगडा गर्ने मूख्य २ जनालाई नियन्त्रणमा लिएर प्रहरी जानथालेपछि स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए । कुटपिट पछि प्रहरीले बोकेको दुई थान हतियार र २५ राउण्ड गोली लुटेर लगेका थिए ।

हतियार लुटिएपछि राति नै जिप्रका वारा, पर्सा र गुल्मबाट थप प्रहरी पुगेर दुबै गाउ“मा व्यापक रुपमा खनतलासी गरेको थियो । नारायणी अन्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक नारायण सिंह खड्काले राति करिब १ बजे खेतमा लुकाइरहेको अवस्थामा लुटिएको हतियार र गोली बरामद भएको बताए । प्रहरीलाई कुटपिट गर्ने र हतियार लुटेको आरोपमा १५ जनालाई नियन्त्रणमा लिइएको छ ।