प्रमुख निर्वाचन आयुक्तमा यादव पक्का

299

काठमाडौं, २४ असार – निर्वाचन आयोगको प्रमुख आयु्क्तमा अयोधी प्रसाद यादवलाई नियुक्त गर्ने बाटो खुलेको छ । व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिले शुक्रवार प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम सर्वसम्मत अनुमोदन गरेपछि यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गर्ने बाटो खुलेको हो ।

संवैधानिक परिषदको सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । समितिको शुक्रबार बसेको बैठकमा यादवको सुनुवाई भएको थियो । लगत्तै बैठकले यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

कार्यबाहक प्रमुख आयुक्त यादवको पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुंगो नलागी संसदीय सुनुवाइ गर्न नहुने जिकिरका दुई उजुरी परेका थिए ।तर, उजुरीकर्ताले आफ्नो उजुरीमा सम्पर्क नम्बर वा इमेल नदिएका कारण तत्काल उजुरीका बारेमा सोधपुछ गर्न सम्भव नभएकाले सिधै संसदीय सुनुवाइ गरिएको हो ।