बारामा फर्जी बिल भुक्तानी दिन नमानेपछी एलडिओद्वारा लेखापाललाई ज्यानमार्ने धम्की

435

बारा,२४ असार – जिल्ला विकास समिति बाराका लेखापाल कमल पौडेलले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । राप्रपा नेपाल बाराका अध्यक्ष राजनारायण साह र स्थानीय विकास अधिकारी नारायणप्रसाद पाण्डले आफूलाई गाली गर्दै ज्यान मार्ने धम्की दिएको उहाँको भनाई छ ।

फर्जि बिलको भुक्तानी दिन नमानेपछि स्थानीय विकास अधिकारी पाण्डे र राप्रपा नेपालका अध्यक्ष साह दुबैले बिहीबार गाली गर्दै ज्यान मार्ने धम्की दिएको लेखापाल पौडेलले बताउनु भयो ।

राप्रपा नेपालका जिल्ला अध्यक्ष साहले लक्षित वर्गका लागि सञ्चालित कार्यक्रमको भुक्तानीका लागि पेश गरेको फाइलमा प्रक्रिया नपुगको र कागजात पनि त्रुटीपूर्ण रहेको भन्दै लेखापाल पौडेलले निर्णयका लागि उक्त फाइल स्थानीय विकास अधिकारी पाण्डे समक्ष पेश गरेको बताएका छन् । फाइल पाण्डेलाई दिएपछि साह र पाण्डेले लेखापाल पौडेललाई गाली गर्दै ज्यान मार्ने धम्की दिएका हुन् ।

स्थानीय विकास अधिकारी पाण्डेले आफूलाई बिहीबार दिउँसो आफ्नो सरकारी निवासमा बोलाएको र त्यहाँ राप्रपा नेपालका अध्यक्ष साह रहेको लेखापाल पौडेलले बताउनु भयो । त्यहाँ स्थानीय विकास अधिकारी पाण्डे र राप्रपा नेपालका अध्यक्ष साहले गाली गर्दै ज्यान मार्ने धम्की दिएको लेखापाल पौडेलले बताउनु भयो ।

कार्यालय प्रमुखले नै नेताको सहयोगमा धम्क्याउन थालेपछि लेखापाल पौडेल शुक्रबारदेखि असार २६ गते सम्मका लागि बिदामा बस्नु भएको छ । कार्यालय प्रमुखले कर्मचारीको सुरक्षा गर्नुको सट्टा धम्की दिन लगाएका कारण कार्यालयमा काम गर्न सक्ने वातावरण नभएको उहाँको भनाई छ ।

यसअघि पनि स्थानीय विकास अधिकारी पाण्डे र  नेताहरुले अनेक दबाब र धम्की दिएका कारण लेखापाल पौडेल र लेखा अधिकृत बिस्मील्ला अन्सारी असार ६ गते देखि एक महिनाको बिदामा बसेपछि प्रमुख जिल्ला अधिकारीको आग्रहमा लेखापाल पौडेल असार १३ गतेदेखि काममा फर्कनु भएको थियो । तर लेखा अधिकृत अन्सारी भने अहिले पनि बिदामै हुनुहुन्छ ।

स्थानीय विकास अधिकारी पाण्डेले भने लेखापाल पौडेललाई कसैले पनि धम्की नदिएको बताउनु भएको छ । साहले पेश गरेको फाइलमा केहि समस्या देखिएपछि आफूले लेखापाल पौडेल र साहबिच छलफल मात्र गराइदिएको स्थानीय विकास अधिकारी पाण्डले बताउनु भयो । उहाँले यो विषय कार्यालयको आन्त्रिक विषय भएकाले बढी चासो नलिनु भन्ने जवाफ दिनुभएको छ ।

श्रोतः उज्यालो ।