मधेसको माग सम्बोधन नगरेसम्म निर्वाचन सम्भव छैन : भट्टराई

278

विराटनगर, २४ असार – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ६-६ महिनामा सरकार परिवर्तन हुने परिपाटी बन्द गरिनुपर्ने बताएका छन्।  संगठन बिस्तार तथा जिल्ला संयोजक र कार्यकर्तासँग भेटघाटका लागि विराटनगर पुगेका संयोजक भट्टराईले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै देशमा राजनीतिक स्थायीत्व आवश्यक रहेको बताएका हुन्।

उनले देशमा राजनीतिक स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने बताएका छन्। उनले कार्यकारी राष्ट्रपतिको व्यवस्थासहित संसदमा सबैको प्रतिनिधित्वको सुनिश्चितताको लागि पूर्ण समानुपातिक व्यवस्था लागु गर्नुपर्ने भनाई राखेका छन्।

उनले आगामी डेढ वर्षमा तीनै निकायको निर्वाचन गर्न सम्भव भएको बताएका छन्। यसका लागि पहिले विभिन्न पक्षले गरिरहेको आन्दोलनलाई मत्थर पार्नुपर्ने र सबैका मागलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताए।

थारू तथा मधेसी जनताको मागलाई सम्बोधन नगरेसम्म निर्वाचन पनि सम्भव नभएको बताउँदै उनले भने, ‘निर्वाचनपूर्व थारू, मधेसलगायतका मागलाई सम्बोधन गर्नुपर्छ। उनीहरूको माग सम्बोधन गरेर संविधान संशोधन गरेर मात्र निर्वाचन सम्भव छ।’ उनले सबैका माग सम्बोधनपश्चात् स्थानीय निकायको पुन:संरचना गर्नुपर्ने बताएका छन्। स्थानीय निकाय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकसाथ गर्न सकिने भन्दै यसले खर्च पनि कम गर्ने उनको भनाई छ।

डा. भट्टराई एक नम्बर प्रदेशमा जिल्ला संयोजकहरू तथा कार्यकर्तासँगको भेटघाटका लागि विराटनगर पुगेका हुन्। उनले आज धरानको भेँडेटारमा हुने एक कार्यक्रममा भाग लिने तथा कार्यकर्ताहरूसँग भेटघाट गर्ने छन् भने शनिबार उनी सुनसरीमा हुने कार्यक्रममा भाग लिएर शनिबार नै काठमाडौं फर्कँदैछन्।