ट्वीटरका सिइओको ट्वीटर अकाउन्ट ह्याक एजेन्सी

333

काठमाडौँ, २६ असार – केही समययता सामाजिक सञ्जालमा रहेका केही सेलिब्रेटीहरूको अकाउन्ट ह्याक भइरहेको थियो। केही सेलिब्रेटीहरूको ट्वीटर अकाउन्ट ह्याक गरेपछि पछिल्लो समयमा ह्याकरहरूको समूहले ट्वीटरका प्रमुख कार्यकारी अधिकृत(सिईओ) ज्याक डोर्सेको अकाउन्ट समेत ह्याक गरेका छन्।

‘आउरमाइन’ नामको समूहले कार्यकारी प्रमुख डोर्सेको अकाउन्ट ह्याक गरेको दावी गरेको छ। यो समूहले फेसबुकका सह-संस्थापक मार्क जुकरबर्ग र गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईको अकाउन्ट पनि ह्याक गरेको दावी गरेका थिए।  ‘आउरमाइन’ समूहले ट्वीटरका प्रमुख डोर्सेको ट्वीटरमा एक भिडियो अपलोड गर्दै भनेका छन्, ‘हामी आउरमाइन हौँ, हामी तिम्रो सामाजिक सञ्जालको सुरक्षाको परीक्षण गरिरहेका छौँ।’

उक्त ट्वीट भने केही बेरमा नै हटाइएको थियो। ‘आउरमाइन’ समूहले ती सबै म्यासेजहरू भाइनमार्फत ट्वीटरमा पोष्ट गरेको समाचारमा जनाइएको छ। समाचारमा जनाइए अनुसार ट्वीटरका प्रमुख कार्यकारी अधिकृत डोर्सेले भाइनमा आफ्नो पुरानो पासवर्ड नै प्रयोग गरिरहेका थिए र त्यहिबाट ह्याकरको समूहले ट्वीटर ह्याक गर्न सफल भएको हो।

ह्याकरहरूले पोष्ट गरेको ट्वीटरमा रहेको लिंक क्लिक गर्दा उक्त लिंक ट्वीटरले पत्ता लगाएको र यो हानिकारक हुनसक्छ भनिएको छ।  यस्तै, भाइनसँग जोडिएको अर्को एउटा ट्वीटको लिंक क्लिक गर्दा ‘यो रेकर्ड डिलिट गरिएको छ’ भन्ने म्यासेज देखिन्छ।  पछिल्लो समयमा उच्च पदस्थ व्यक्ति र सेलिब्रेटीहरूको अकाउन्ट ह्याक भइरहको अवस्थामा ट्वीटरका प्रमुख कै अकाउन्ट ह्याक हुनुले यसको सुरक्षा प्रणालीमाथि नै आशंका उब्जिएको छ।