त्रिदिवसीय प्रवचन कार्यक्रम

245

काठमाडौँ, २६ असार – आनन्द मार्ग प्रचारक सङ्घ नेपालले त्रिदिवसीय सामाजिक–आध्यात्मिक दर्शनमा आधारित प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।

समाजका हरेक क्षेत्रमा रहेका मानिसलाई धार्मिक ज्ञान र मानवीय जागरण गराउने उद्देश्य राखी आयोजना गरिएको उक्त प्रवचन कार्यक्रम यही असार २४ गतेदेखि सुरु भएको हो ।

संस्थाका जनसम्पर्क सचिव मनिषमान श्रेष्ठले उक्त प्रवचन कार्यक्रमका लागि प्रमुख वक्ताका रुपमा भारतबाट आनन्द मार्गका वरिष्ठ पुरोधा आचार्य स्वरुपानन्द अवधूत आउनुभएको जानकारी दिनुभयो ।

जडिबुटीस्थित आनन्द विद्या मन्दिरमा बिहान ४ देखि राति १० बजेसम्म पाञ्चजन्य, सामुहिक साधना, योगासन अभ्यास, कीर्तनका साथै “प्राण धर्म”, “तन्त्रमा ब्रह्म विज्ञान” र “मानसाध्यात्मिक साधनामा संवेदना” मा आधारित रहेर सामाजिक–आध्यात्मिक दर्शनको सैद्वान्तिक र व्यावहारिक ज्ञानसम्बन्धी कक्षा सञ्चालन भइरहेका छन् ।

उक्त कार्यक्रममा विभिन्न जिल्लाका करिब २०० साधकसाधिकाको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ । रासस/अन्जली