नयाँ शक्ति निर्वाचन आयोगमा दर्ता

264

काठमाडौँ, २६ असार बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ । आइतबार दिउँसो पौने एक बजे रामचन्द्र झा, रामकुमार शर्मा, हिसिला यमीलगायत नेतासहित पुगेका डा. भट्टराईले नयाँ शक्ति नेपाल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् ।

आयोगले नयाँ शक्तिको निवेदन दर्ता गरेको छ । आयोगका अनुसार पार्टी कति नम्बरमा दर्ता भयो भन्ने केही दिनमा थाहा हुनेछ । “दर्ता भएका एक दर्जनजति दलको दर्ता खारेज भएको छ । त्यसैले यो पार्टी कति नम्बरमा दर्ता हुन्छ अहिले नै भन्न सकिँदैन,” आयोगका एक कर्मचारीले भने, “प्रक्रियामा गयो, अब एक–दुई दिनभित्रै थाहा हुन्छ ।”

आयोगमा दल दर्ताको निवेदन दिएर बाहिरिने क्रममा संयोजक भट्टराईले आफ्नो दल लोकतान्त्रिक भएको स्पष्ट पार्दै तीन वटै निर्वाचनमा जाने जानकारी दिए । “निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने गृहकार्य हामी लागेका छौं,” भट्टराईले भने ।