‘निर्णायक’ वार्ता गर्न बालुवाटार जाँदै दाहाल

304

काठमाडौँ, २७ असार – आज केन्द्रीय कार्यालयले निर्णय गरे अनुसार, प्रधानमन्त्री केपी ओलीसँग निर्णायक वार्ता गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितको टोली बालुवाटार जादैछ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार प्रमोद दाहालका अनुसार, दुई पक्षबीच अहिले बेलुका ५ बजे वार्ता हुने तय भएको छ ।

दुई पक्षबीच आज हुने वार्ताले माओवादी केन्द्र वर्तमान सरकारमा रहने या नरहने तय हुनेछ ।

माओवादी केन्द्रले केही दिनदेखि नेकपा एमालेले दुई महिनाअघि आफूसँग गरेको ९ बुँदे सहमति कार्यान्वय नगरेको बताउँदै आएको छ । त्यसबेला बजेट पारित भएपछि सरकारको नेतृत्व दाहाललाई दिने भद्र सहमति भएको पनि उसको दाबी छ ।

प्रधानमन्त्री ओलीसहित एमाले नेताहरुले त्यस्तो भद्र सहमति नभएको बताउँदै आएका छन् । उनीहरुका अनुसार, ९ बुँदे सहमति कार्यान्वयनको क्रममा रहेकाले माओवादी केन्द्रको असन्तुष्टि जायज छैन ।