सरकार छाड्ने तयारीमा मावोवादी, भोलि निर्णय हुने

200

काठमाडौँ, २८ असार – बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्री केपी ओलीसँगको निर्णायक वार्ता असफल भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरिने अन्तिम तयारीमा जुटेका छन्। आज साँझसम्म राजनीतिले कुनै नयाँ मोड लिएन भने माओवादीले भोलीसम्म सरकार छाड्ने छ।

अहिले बिहान अध्यक्ष दाहालले वर्तमान गठबन्धनको विपक्षमा उभिएका आफु निकट नेता कृष्णबहादुर महरा, वर्षमान पुनसँग छलफल गरिरहेका छन् । माओवादीको सचिवालय बैठक तय भैसकेको छैन, तर लाजिम्पाट निकट स्रोतका अनुसार आज नै बैठक बसेर सरकार छाड्ने निर्णय हुनसक्ने छ ।

माओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार अहिले बिहानसम्म सचिवालय बैठक तय भैसकेको छैन ।

आज निर्णय भए पनि माओवादीले भोली संसदबाट बजेट पास गर्न भने सहयोग गर्ने तयारी गरेको छ ।

‘एमालेसँगको सहकार्य लगभग सकियो, शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन काँग्रेस सहमत भएकाले अब काँग्रेससँग मिलेर बहुमतीय सरकार बनाइन्छ’, माओवादी सचिवालय सदस्य मणी थापाले भने, ‘भोली बजेट पास गरेपछि सरकारबाट फिर्ता हुने वा आज नै फिर्ता हुने भन्ने निर्णय सचिवालय बैठकले गर्नेछ, सबै जिम्म आध्यक्षलाई दिइएको छ।’

सोमबार बिहान लाजिम्पाटमै बसेको माओवादी सचिवालय बैठकले अध्यक्ष दाहाललाई प्रधानमन्त्री ओलीसँग निर्णायक वार्ता गर्ने जिम्मा दिएको थियो । सत्ता गठबन्धनबारे प्रधानमन्त्री ओलीसँग बारम्बार छलफल गरेका दाहाल सोमबार विपक्षी नेता शेरबहादुर देउवासँग भेटेर मात्र बालुवाटार गएका थिए ।

देउवा र दाहालले राष्ट्रिय सहमतीको सरकार बन्न नसक्ने निष्कर्ष निकाल्दै काँग्रेस–माओवादी सहितको बहुमतीय सरकार निर्माणबारे अन्तिम सहमती भएको बुझिएको छ ।

बालुवाटारमा साँझ सवा दुई घण्टासम्म चलेको ओली–दाहाल वार्ता वर्तामान गठबन्धनलाई निरन्तरता दिन असफल रह्यो । ‘प्रचण्डसँग सवा दुई घण्टा वान टु वान कुरा गरेर निस्केपछि प्रधानमन्त्रीले वार्ता सौहाद्र्धपूर्ण भयो मात्र भन्नुभो’, प्रधानमन्त्री ओलीका विदेश मामिला विज्ञ गोपाल खनालले भने, ‘धेरै कुरा आएका छन्, माओवादीले के निर्णय गर्छ यसै भन्न सकिन्न ।’

माओवादी नेता मातृका यादवले सचिवालय बैठक बसेर सरकार परिवर्तन सम्बन्धी निर्णय हुने बताए । ‘ओलीले ३ बुँदे समझदारी मानेनन्, मधेशका मुद्दा हल गर्न पनि मानेनन्, राष्ट्रिय सरकार बनाउन पनि सहमत भएनन्’, यादवले भने, ‘अब काँग्रेससँग मिलेर बहुमतीय सरकार बन्छ।’